नेपाली पर्या साहित्य प्रतिष्ठानको अध्यक्षमा हितान

भर्चुअल माध्यमबाट बुधबार बसेको बैठकले बेलायत निवासी हितानको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

कार्तिक २९, २०८२

कान्तिपुर संवाददाता

Hitan elected as president of Nepali Parya Sahitya Pratisthan

What you should know

काठमाडौँ — नेपाली पर्या साहित्य प्रतिष्ठानको अध्यक्षमा साहित्यकार विजय हितान चयन भएका छन् । 

भर्चुअल माध्यमबाट बुधबार बसेको बैठकले बेलायत निवासी हितानको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । प्रतिष्ठानको समितिमा नेपाल, भारत, हङकङ र बेलायतमा बसोबास गर्दै आएका प्राज्ञ, समालोचक, शिक्षक, कवि, वातावरण अभियन्ता तथा प्रकृतिप्रेमीहरू आबद्ध छन् । 

कार्यसमिति उपाध्यक्षद्वयमा राधिका कल्पित, देवेन सापकोटा, महासचिवमा भावेश भुमरी, सचिवहरुमा डी.बी. गुरुङ, राजेन्द्र भट्ट र कोषाध्यक्षमा लक्ष्मी रुम्बा चुनिए । 

सदस्यहरुमा महेश पौड्याल, गंगा पोखरेल, अशोक थापा, पुरुषोत्तम उपाध्याय दहाल, नाज सिङ, इन्द्र चौधरी, जानू काम्बाङ लिम्बू, कृष्ण बाउसे, सरिता घिमिरे र यशोदा राई चयन भएका छन् । 

बैठकले संरक्षक, सल्लाहकारसमेत छनोट गरेको अध्यक्ष हितानले जानकारी दिए । संरक्षकहरुमा प्रा. गोविन्दराज भट्टराई, ज्ञानबहादुर क्षेत्री छन् । गीता त्रिपाठी, प्रा विष्णु एस. राई, भूपिन र देवचन्द्र सुब्बा प्रतिष्ठानको सल्लाहकारमा चुनिएका छन् । 

नेपाली पर्या साहित्य प्रतिष्ठानको स्थापना घोषणा वि.सं. २०८० मा सम्पन्न आठौँ वातावरण साहित्य गोष्ठीमा गरिएको थियो । करिब एक दशक स्वयंसेवी समूहका रूपमा सञ्चालन हुँदै आएको यो अभियान अब आएर औपचारिक संस्थागत रूप लिन सफल भएको अध्यक्ष हितानले बताए । 

प्रतिष्ठानको मूल उद्देश्य पर्यावरणीय लेखन (इको–राइटिङ) लाई प्रोत्साहन गर्दै वातावरणीय समस्या, तिनका कारण र समाधानबारे साहित्यिक माध्यमबाट जनचेतना जगाउने रहेको उनले बताए । अध्यक्ष हितानले भने, 'दुई वर्षको तयारीपछि हामीले औपचारिक टिम गठन गर्न सफल भएका छौं । प्रतिष्ठानको उद्देश्यलाई व्यवहारमा उतार्न सबैको सहकार्य अत्यावश्यक छ ।'

वातावरण साहित्य गोष्ठीलाई निरन्तरता दिने, पर्या साहित्यका कथा, कविता, उपन्यास, सिद्धान्त र नियात्राका कृतिहरू प्रकाशन गर्ने, नयाँ लेखकमाथि विशेष रूपले ध्यान दिने, साथै वातावरण संरक्षणसम्बन्धी गतिविधिमा अन्य संस्थासँग सहकार्य गर्ने प्रतिष्ठानको योजना रहेको अध्यक्ष हितानले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully