सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ लोकार्पण

धनकुटाको कागतेमा जन्मिएका यक्सो हाल हङकङमा बसोबास गर्दै आएका छन्। यक्सोको यस संग्रहभित्र १५ वटा कथाहरू समावेश छन्।

कार्तिक २६, २०८२

कान्तिपुर संवाददाता

Suresh Yakso's story collection 'Peniba' launched

What you should know

काठमाडौँ — हङकङ निवासी कथाकार सुरेश यक्सोद्वारा लिखित कथासंग्रह ‘पेनिबा’ विमोचन भएको छ। मंगलबार एक कार्यक्रमबीच नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तीलविक्रम नेम्बाङ (बैरागी काइँला), नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ, कवि शशी लुमुम्बू, प्राज्ञ तथा कवि श्रवण मुकारुङ, कथाकार बिना थिङ, लेखक तथा समालोचक डा. तुलसी गौतम र लेखककी आमा लक्ष्मी लिम्बूले संयुक्त रूपमा पुस्तकको विमोचन गरे।

पूर्वकुलपति नेम्बाङले ‘पेनिबा’ पुस्तक आधुनिक नेपाली समाज र प्रवासी नेपालीहरूको जीवन भोगाइको सशक्त प्रतिबिम्ब भएको बताए। 'सुरेश यक्सो केवल कथाकार मात्र होइनन्, उनी कवि र साहित्यिक अभियन्ता पनि हुन्। उनका कथा सरल भाषामा लेखिएका छन्, तर ती कथाभित्र गहिरा भावना, संवेदना र मनोविज्ञान बगिरहेको हुन्छ,' उनको भनाइ थियो। 

पूर्वकुलपति नेम्बाङले धनकुटाको पहाडी भूगोल र जनजीवनसँग जोडिएको यक्सोको लेखनशैली नेपाली साहित्यमा मौलिक पहिचानका रूपमा स्थापित हुने धारणा व्यक्त गरे। नेपाल प्रहरीका महानिरीक्षक खापुङले ‘पेनिबा’लाई नेपाली समाजको पहिचान र विविधताको दर्पणका रूपमा व्याख्या गरे। 'पेनिबाले नेपालीपनलाई पुनः अनुभूति गराउँछ। पेनिबा केवल मनोरञ्जनका लागि लेखिएको कथा होइन, यो हाम्रो समाजको आत्मपरक कथा हो,' खापुङले भने।

लेखक तथा समालोचक डा. गौतमले यस संग्रहमा कथाकारले मुन्धुमको दर्शनबाट जीवनलाई हेरेको देखिएको बताए। 'याक्थुङ लिम्बूहरूको मुन्धुम दर्शन हामीले बाहिर ल्याउन सकेका छैनौँ। यो एउटा जीवन दर्शन हो,' उनले भने, 'कथाकारले यहाँ एक ठाउँमा भनेका छन्, ‘म ज्ञानको लागि भौतारिएर धेरैवटा ग्रन्थहरू पढ्न गएँ। धेरैवटा लेखकका किताबहरू हेरेँ, तर दर्शन त गाउँमा पो रहेछ।'

कवि तथा कथाकार बिना थिङले लेखकले समाजलाई कसरी हेर्छ भन्ने कुरामा उनको विचार र हुर्किएको धरातल प्रमुख हुने बताउँदै यक्सोले पनि कथाद्वारा आफ्नो विचार प्रस्तुत गरेको बताइन्। 'लेखक हुनु भनेको आफ्नो विचार सम्प्रेषण गर्नको लागि हो। चाहे त्यो फिक्सन होस् या नन–फिक्सन, कविता होस्, निबन्ध अथवा जुनसुकै विधा होस्। जसरी हुन्छ, एउटा लेखकले आफ्नो विचार सम्प्रेषण गर्ने हो। त्यसका लागि उसले विधा निर्धारण गर्ने मात्रै हो,' उनले भनिन्।

प्राज्ञ तथा कवि श्रवण मुकारुङले कथाकार सुरेश यक्सो नेपाली साहित्य क्षेत्रका उदीयमान र बहुप्रतिभाशाली युवा कथाकार भएको बताए। सुरेशका कथाहरूले पहिचान तथा अस्तित्वका कुरा, सामाजिक न्याय र मानवताका विषय उठाउने उनले बताए।

सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी लुमुम्बूले कथाकार सुरेश यक्सो जस्ता नेपाली साहित्यमा नयाँ पुस्ताको योगदान निकै महत्त्वपूर्ण रहेको बताए। उनले यस्ता सिर्जनात्मक प्रयासले नेपाली कथा लेखनलाई नयाँ दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गरे।

धनकुटाको कागतेमा जन्मिएका यक्सो हाल हङकङमा बसोबास गर्दै आएका छन्। यक्सोको यो पहिलो कृति हो। यस संग्रहभित्र १५ वटा कथाहरू समावेश छन्, जसमध्ये शीर्षक कथा ‘पेनिबा’का लागि उनले धेरै मिहिनेत गरेको बताए।

कान्तिपुर

Link copied successfully