कार्यक्रममा 'चक्रपाणि' साहित्य वार्षिक, निबन्ध विशेषांक पनि लोकार्पण गरिएको छ ।
What you should know
काठमाडौँ — १४३ औँ चक्रपाणि जन्मजयन्तीका अवसरमा प्राडा दयाराम श्रेष्ठ २० हजार राशिसहितको चक्रपाणि स्मरण पुरस्कारद्वारा सम्मानित भएका छन् । सूर्यविनायक-५, कटुञ्जेस्थित चक्रपाणि समारकस्थलमा आयोजित कार्यक्रमबीच चक्रपाणि स्मारक प्रतिष्ठानले श्रेष्ठलाई सम्मान गरेको हो ।
प्रमुख अतिथि निबन्धकार रोचक घिमिरेले सम्मानित श्रेष्ठ इमानदार अध्ययता, शिल्पी लेखक, जिम्मेवार प्राध्यापक, निडर समालोचक र मिहिनेती अनुसन्धाता भएको बताए । उनले चक्रपाणिको जीवनवृत्तिको चर्चा गर्दै त्यस्ता शिखर व्यक्तित्व चक्रपाणिको नाममा स्थापित पुरस्कार पाउनु भनेको त्यागको प्रतिफल भएको बताउँदै बधाई दिए ।
चक्रपाणि स्मरण पुरस्कारद्वारा विभूषित हुन पाउँदा आफ्नो लगन र कर्मको फल प्राप्त भएको श्रेष्ठले बताए । चालिसे भाषा, व्याकरण, पद्य र गद्य शिल्पी भएको बताउँदै श्रेष्ठले संक्षिप्त भारत, संक्षिप्त रामायणलगायत दर्जनौँ कृति अध्ययन गर्दा उनको लेखकीय शक्तिको तेजले आफू प्रभावित भएको अनुभव साटे ।
सम्मानित व्यक्तित्व श्रेष्ठका जीवनवृत्ति, व्यक्तित्व, कृतित्व र योगदानका बारेमा डा. बालाकृष्ण अधिकारीले चर्चा गरेका थिए ।
त्यस्तै वाङ्ममयको श्रीवृद्धिमा टेवा पुर्याउने साहित्य साधकलाई प्रदान गरिने गोमाश्री वाङ्मय पुरस्कार - २०८२ साहित्यसाधक सामशरण न्यौपानेलाई प्रदान गरिएको छ । उनलाई ३ दशकभन्दा बढी समय साहित्यलेखन, प्रकाशनका साथै सम्पादन र प्रचारप्रसारमा अनवरत सेवामा समर्पित गरेको मूल्याङ्कन गर्दै सो पुरस्कार प्रदान गरिएको हो । उनको साहित्यिक योगदान, कृतित्व र सेवाका बारेमा डा. शैलेन्दुप्रकाश नेपालले चर्चा गरे ।
सोही कार्यक्रममा कवि, सञ्चारकर्मी एवम् चक्रपाणि स्मारक प्रतिष्ठानका सदस्य सचिव रामगोपाल आशुतोषद्वारा सम्पादित 'चक्रपाणि' साहित्य वार्षिक, निबन्ध विशेषाङ्क लोकार्पण गरिएको छ । विशेषाङ्कमाथि डा. यादेवी अधिकारी र कवि एवम् कथाकार लक्ष्मी थापाले समीक्षा गरेका थिए । विशेषाङ्कमा विसं. १९९४ देखि २०५४ सालमा जन्मेका निबन्धकारहरूका २८ निबन्ध सङ्ग्रहित रहेको कार्यकारी सम्पादक आशुतोषले बताए ।
त्यस्तै साहित्यसेवा एवम् चक्रपाणि स्मारक प्रतिष्ठानका संस्थापक उपाध्यक्ष बैजनाथ चालिसे र उनकी धर्मपत्नीको नाममा स्थापित बैजनाथ-सुशिला प्रोत्साहन पुरस्कार- २०८२ द्वारा सूर्यविनायकका दुई विद्यालयका दुई विद्यार्थी पुरस्कृत भए ।
कार्यक्रममा कवि विजय लुइटेल, राजु झल्लु प्रसाद, रजनी मिला, प्रजेश खड्का, शोभा सरभ, वसन्त नकर्मी, रहेना नकर्मी मानन्धर, मञ्जु सिंह, पदम दाहाललगायत विभिन्न विद्यालयका छात्रछात्राहरूले कविता सुनाएका थिए ।
