‘नीलो प्रेम’ मूलतः प्रेम कथा भए पनि यसले सामाजिक, सांस्कृतिक र आर्थिक पक्षको समेत मिहिन ढंगले उजागर गरेको समीक्षकहरू बताउँछन् ।
काठमाडौँ — प्रेम, मित्रता, परिवार र युवावस्थाका द्वन्द्वलाई समेटिएको उपन्यास 'नीलो प्रेम' युवापुस्ताले निकै रुचाएका छन् ।
सामाजिक सञ्जालकै कारण उपन्यासको प्रचार बढेको यसका प्रकाशक बताउँछन् । 'नीलो प्रेम'का पाठक नाचेका, हाँसेका अनि डाँको छोड्दै रोएका धेरै भिडियो टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल छन् ।
प्रकाशनको ६ महिनाभित्रै ‘नीलो प्रेम’का २५ हजारभन्दा बढी प्रति बिक्री भइसकेको जानकारी प्रकाशक इन्डिगो इन्कले दिएको छ । यो संख्या पछिल्ला वर्षमा नयाँ लेखकको पुस्तकका लागि उल्लेखनीय मानिन्छ । लेखक पुरुषोत्तम बजगाईं नेपाली पाठकमाझ नयाँ नाम भए पनि पहिलो कृतिमार्फत नै आफ्नो लेखनशैली र संवेदनशील दृष्टिकोणले ठूलो प्रभाव पारिरहेका छन् ।
'साहित्यलाई सरल रूपमा प्रस्तुत गरी नयाँ पुस्तालाई नेपाली साहित्यतर्फ आकर्षित गराउनु आजको आवश्यकता हो,' लेखक बजगाईं भन्छन् ।
नयाँ लेखकलाई प्रोत्साहन गर्नु प्रकाशकको दायित्व भएको प्रकाशक विष्णुकुमार पौडेलले बताए । 'नयाँ लेखकका कृति पाठकले मनपराइदिनु हाम्रा लागि त उत्साहजनक नै हो,' उनले भने, 'यसले नेपाली साहित्य पठनमा नयाँ पुस्तालाई थप आकर्षित गर्छ, त्यो अर्को सकारात्मक पाटो हो ।'
चैत २०८१ मा प्रकाशित यस कृति साहित्यपोस्ट नव आख्यान पुरस्कार २०८१ को छोटो सूचीमा समावेश थियो जसले यसको साहित्यिक मूल्यलाई थप उजागर गरेको छ ।
‘नीलो प्रेम’ मूलतः प्रेम कथा भए पनि यसले सामाजिक, सांस्कृतिक र आर्थिक पक्षको समेत मिहिन ढङ्गले उजागर गरेको समीक्षकहरू बताउँछन् ।
