पत्रकार गिरीको कथार्पण 'भग्न प्रेमशाला'

प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखकहरू नयनराज पाण्डे, बसन्त बस्नेत र सगुना शाहले पुस्तक विमोचन गरे ।

कार्तिक २१, २०८२

कान्तिपुर संवाददाता

Journalist Giri's story 'Broken Love House'

What you should know

काठमाडौँ — पत्रकार खगेन्द्र गिरीको पहिलो कथासंग्रह ‘भग्न प्रेमशाला’ शुक्रबार राजधानीमा विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखकहरू नयनराज पाण्डे, बसन्त बस्नेत र सगुना शाहले पुस्तक विमोचन गरे ।

लेखक पाण्डेले यो संग्रहले आफूलाई आशावादी बनाएको बताउँदै पछिल्लो समय आएका उल्लेखनीय कथामध्ये यो पनि एउटा भएको चर्चा गरे । विशेषगरी धमिलो रंगमा खेलिएका कथाका पात्रले पाठकलाई मज्जाले बिथोल्ने उनको भनाइ थियो । ‘कथाभित्र चिसोपन छ, सायद यी जाडोका कथा हुन्,’ लेखक पाण्डेले भने, ‘यी बनावटी र बलजफ्ती लेखिएका होइनन् । भाषा नदीझैं बगेको छ । कथा कसरी लेख्ने, नयाँ पुस्ताका लागि सन्दर्भ ग्रन्थजस्तो छ ।’ संग्रहमा स्वैरकल्पना नभई ती यथार्थमै टेकेर वाचन गरिएका कथा रहेको उनले बताए ।

लेखक बस्नेतले कथाकार गिरीलाई नेपाली साहित्यमा स्वागतसँगै र ईर्ष्या गर्न सकिने बताए । ‘संग्रहमा इतिहासका प्रामाणिक विषयदेखि एआई, रोबोटिक्सका कथा पनि छन्,’ उनले भने, ‘कतिपय कथा तताउन समय लाग्छ, तर दामी ट्विस्ट आउँछ ।’ दिमाग र हृदय छुन सक्ने यी कथामा दक्षिण एसियाली कथाकै जस्तो स्वाद पाइने भन्दै उनले प्रशंसा गरे ।

अर्की वक्ता लेखक सगुना शाहले हरेकजसो कथामा आन्तरिक द्वन्द्व पाइने बताइन् । ‘अग्रज–नवोदित लेखकले प्रायः कम्फर्ट जोनमा बसेर लेख्ने गरेको पाउँछु,’ उनले भनिन्, ‘तर, यस्ता कथा-पात्रमार्फत साधारण जनजीवनको असाधारण कथा पढ्न पाएको छु ।’

इतिहासदेखि वर्तमानसम्मका विविध कथा समेटिएको संग्रहमा मनोवैज्ञानिक पक्षको आधिक्य रहेको शाहको भनाइ थियो । ‘यसमा कुनै वाद समाएर लेखेको देखिनँ । समाजको सूक्ष्म अवलोकन छ । पात्र चयन र विकासमा गहिरो तरिकाले काम गरिएको छ,’ उनले भनिन्, ‘केही कथाको सुरुवातलाई अझ राम्रो बनाउन सकिने ठाउँ भने छ ।’ 

लेखक गिरीले कथा लेख्दादेखि प्रकाशन भएर हात पर्दासम्म आफूले बोझ बोकिरहेको भन्दै थपे, ‘आज हलुका भएको छु ।’ हाल नेपालखबर अनलाइनमा कार्यरत गिरीले एन फ्र्यांकको विश्वप्रसिद्ध किताब 'द डायरी अप ए योङ गर्ल'को नेपाली अनुवाद 'एक किशोरीको डायरी' प्रकाशन गरिसकेका छन् । 'भग्न प्रेमशाला'लाई इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

कान्तिपुर

Link copied successfully