कथालयले लियो 'रिच ड्याड, पोर ड्याड’को नेपाली अनुवाद र प्रकाशनको आधिकारिकता

रिच ड्याड अपरेटिङ कम्पनीका तर्फबाट कार्यकारी अधिकृत किम कियोसाकी र कथालयका सहसंस्थापक तथा निर्देशक राजीवधर जोशीले सम्झौतामा हस्ताक्षर गरे ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Kathalaya takes over the Nepali translation and publication of 'Rich Dad, Poor Dad'

काठमाडौँ — उद्यमी तथा लगानीकर्ता रोबर्ट कियोसाकीद्वारा लिखित चर्चित पुस्तक 'रिच ड्याड, पोर ड्याड’ को नेपाली भाषामा आधिकारिक अनुवाद तथा प्रकाशन गर्न कथालय इन्क प्रालिले अनुमति लिएको छ ।

अमेरिकाको रिच ड्याड अपरेटिङ कम्पनीका तर्फबाट कार्यकारी अधिकृत किम कियोसाकी र कथालयका सहसंस्थापक तथा निर्देशक राजीवधर जोशीले सम्झौतामा हस्ताक्षर गरे ।

हालसम्म यो पुस्तक विश्वभर ४ करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ भने १०९ मुलुकमा ५१ भन्दा बढी भाषामा प्रकाशित भइसकेको छ । कथालय यो पुस्तकलाई आधिकारिक रूपमा नेपाली भाषामा आफ्नो ब्रान्ड 'वी रिड' बाट प्रकाशन गर्ने भएको छ । 

नेपाली पुस्तक बजारमा कतिपय अन्तर्राष्ट्रिय पुस्तक मूल प्रकाशक वा एजेन्टसँग अनुमति नै नलिई प्रकाशन हुने गरेको छ । त्यसैगरी अनधिकृत रूपमा पुस्तक अनुवाद एवम् प्रकाशन हुने हुँदा विश्वसामु नेपाली प्रकाशनको छवि धुमिलिएको अवस्थामा छ । यस सम्झौतापश्चात् पुस्तक प्रकाशनले नेपाली प्रकाशनको छविलाई केही हदसम्म राम्रो बनाउन मद्दत गर्ने कथालयका निर्देशक जोशीले बताए ।

अनुवादपश्चात् पुस्तकको नाम 'धनी बुबा, गरिब बुबा' रहनेछ भने पुस्तक पुस मसान्तभित्र बजारमा उपलब्ध हुने कथालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully