थापाका ‘नेपाली कलामा कामकला’, ‘मल्लकालिक नेपालका नारीहरु’ र ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ कृतिहरु लोकार्पण गरिएको हो ।
काठमाडौँ — संस्कृति अध्येता डा. शशि थापा पण्डितका तीन कृति एकैसाथ लोकार्पण गरिएको छ । थापाका ‘नेपाली कलामा कामकला’, ‘मल्लकालिक नेपालका नारीहरु’ र ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ कृतिहरु लोकार्पण गरिएको हो ।
डा. विणा पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा इतिहासविद् दिनेशराज पन्त, प्रा.डा. पेशल दाहाल र संस्कृतिविद् डा. जगमान गुरुङले संयुक्त रुपमा ती कृतिहरुको लोकार्पण गरे । तीनवटै कृतिको रचनागर्भको चर्चा गर्दै लेखकले यी कृति प्रकाशन गर्न सहयोग गर्ने घरपरिवार, आफन्त, साथीभाइ, सहयोगी र गुरुहरुलाई धन्यवाद ज्ञापन गरिन् ।
‘मल्लकालिक नेपालका नारीहरु’ कृतिमाथि चर्चा गर्दै दिनेशराज पन्तले मल्लकालको सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक अवस्थासहित नारीहरुको अवस्था पनि चित्रण गरेको बताए । पुस्तक निक्कै परिश्रम गरेर तयार गरिएकोले गल्तीरहित र सूचना युक्त भएको उनले बताए ।
शुभकामनाकै क्रममा प्रा.डा. पेशल दाहालले कामकलाजस्तो समाजले नै पचाउन नसक्ने विषयमा पीएचडीको शोध गरेकोले गाइड गर्न, सामग्री उपलब्ध गराउन, निर्देशन दिन पनि सुरुमा कठिन भएको उल्लेख गरे । ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ कृतिको चर्चा गर्दै प्रा.डा. दाहालले काठमाडौँ उपत्यकाको विकासको बीजारोपण र विकासक्रममा नागार्जुन क्षेत्रको चर्चा पाइने बताए । यो क्षेत्रमा धेरै ऐतिहासिक र सांस्कृतिक अभिलेख र प्रमाणहरु भएको उनको भनाइ छ । सात अध्यायमा समेटिएको पुस्तकमा त्यहाँको कला, संस्कृति, चाडपर्व, मठमन्दिरहरु, चलनहरु, धार्मिक आस्थाहरु आदि सम्पूर्ण कुरा उजागर भएको उनले बताए ।
संस्कृतिविद् डा. जगमान गुरुङले कामकला शास्त्रमा कृति प्रकाशन गर्ने हिम्मत डा. थापाले गरेको बताए । उनले भने, ‘रथी धन शमशेर जबराले लेखेको ‘कामकला रहस्य’ त नष्ट भइहाल्यो त्यसपछि नेपालको धर्तीपुत्रले लेखेको कामकलासम्बन्धी पहिलो पुस्तक हो यो ।’ कृतित्वले मान्छेको व्यक्तित्व बढाउने भन्दै उनले डा. थापाको प्रशंसा गरे ।
सभाध्यक्ष डा. विणा पौड्यालले तीन वटा कृति एकै पटक प्रकाशन भएको भन्दै अब डा. थापालाई कृतिले चिनाउने बताइन् । नेपाल आदर्श महिला संघ, बालाजु, काठमाडौँले आयोजना गरेको कार्यक्रममा संघले डा. थापालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान पनि गरेको थियो ।
