‘म आज जान्छु । के हेरेको छस् तैंले ? अब मलाई धेरै नहेर् है । मलाई पनि रुन मन लाग्छ फेरि ।’ यो मनोसंवाद एक जना मान्छे र बाँदर समूहबीचको हो । जीवजनावरसँग जोडिएका यस्ता अनेक रहस्यमय विषयहरू समेटिएको पुस्तक हो ‘ज्ञानिका’ ।
What you should know
‘मानिसको जोडीलाई हनिमुन मनाउन पठाए जस्तो हो त्यो । राम्रो सेवा र सुविधासम्पन्न होटलमा रोमान्स गर्न पठाए जस्तो रमाइलो रोमान्टिक वातावरण बनाई दिनु पर्दछ ।’ यस्तो वातावरण पोखरीका माछाका लागि आवश्यक पर्दो रहेछ । पोखरीका माछालाई यौनआकांक्षा नजाग्न पनि सक्ने भएकाले हनिमुन स्पटको जस्तो माहोल बनाउन आवश्यक छ भन्छन् मत्स्यविज्ञ राजकपुर नापित ।
बाजा र माछाको प्रसङ्ग मात्रै हैन, जीवजनावरसँग जोडिएका यस्ता अनेक रहस्यमय विषयहरू समेटिएको पुस्तक हो ‘ज्ञानिका’ ।
‘म आज जान्छु । के हेरेको छस् तैंले ? अब मलाई धेरै नहेर् है । मलाई पनि रुन मन लाग्छ फेरि ।’ यो मनोसंवाद एक जना मान्छे र बाँदर समूहबीचको हो । बाँदर अनुसन्धानमा खटिएका बेला मुकेश चालिसे जब आफ्नो काम सकेर चितवनको रामनगर जंगलबाट जान लाग्दै थिए, त्यो क्षणमा आफ्ना अगाडि झुम्मिएका बाँदरहरूलाई सम्बोधन गर्दै चालिसे यसो भन्छन् ।
त्यो बेला चालिसे निकै भावुक हुन्छन् । मान्छे र बोल्न नसक्ने बाँदरबीच कस्तो कसिलो सम्बन्ध बनेछ ? बिदाइमा झन्डै आँसु नै झरेको । यसका साथै अनुसन्धानमा खटिने महिलाका अनुभव झन् पृथक छन् । महिलालाई कमजोर ठान्ने आम मानसिकता रहेको समाजमा तुलसीलक्ष्मी सुवालले गरेको सालक अनुसन्धान र रमा मिश्राको मलाहा बिरालोको वृत्तान्त यसमा छ ।
‘मलाई शारीरिक रूपमा एकदमै गाह्रो भएकाले बच्चा खस्छ कि जस्तो भएको थियो । अप्ठ्यारै पर्छ जस्तो भएपछि अस्पताल कति टाढा छ सोधेँ । तर आराम गरेपछि भोलिपल्टबाटै घट्दै घट्दै गयो । के अस्पताल जानु ?’ अनुसन्धानकर्मी रमा मिश्रालाई आफ्नो ज्यानभन्दा बढ्ता चिन्ता अनुसन्धान कर्मको छ । जो गर्भवती भएका बेला पनि वन्यजीव अध्ययनका लागि घरदेखि निकै टाढा फिल्डमै खटिएकी छन् ।
कोशी टप्पुमा खटिँदा उनको शारीरिक अवस्था अनुकूल छैन, समाज पनि अलि अर्कै खालको छ । प्रायः घरबाहिर महिला देखिँदैनन् । उनी भन्छिन्, ‘एकदमै गाह्रो हुँदा एक दिन आराम गरेपछि म गर्भवती छु भन्ने भोलिपल्टै बिर्सने गर्थेँ ।’ समाजमा मात्रै हैन, जंगलमा भोगेका सकस पनि छन् । किताब ‘ज्ञानिका’मा बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत तत्कालीन सैनिक अधिकारीको भोगाइ पनि उत्तिकै रोचक छ ।
‘नीराजन वीरविक्रम शाहले एउटा सिकार गर्न पाऊँ भनेर मलाई घण्टौँ दुःख दिनुभयो,’ बाबुकृष्ण कार्की अगाडि लेख्छन्, ‘माफ गर्नुहोस् सरकार, यो चाहिँ मिल्दैन ।’ कार्कीले मिल्दैन भनेपछि तत्कालीन अधिराजकुमार नीराजनको सिकार खेल्ने रहर या चाहना पूरा भयो कि के भयो ? किताबमा पढ्न पाइन्छ । यति मात्रै हैन, अखेटोपहारका बारेमा त्यो बेलाको सैन्य नेतृत्वको धारणा कस्तो थियो, त्यो पनि छ किताबमा ।
बाघको छाला, हात्तीको दाह्रा र गैँडाको खागका लागि तस्करहरूले यी दुर्लभ जीवजनावरहरू मार्छन् । त्यसको संरक्षण गर्न निकुञ्जमा सेना बसेको हो । तस्करहरूबाट बरामद भएका यस्ता अंग, जसलाई अखेटोपहार पनि भनिन्छ, ती केही समय भण्डारण गरी विधिपूर्वक नष्ट गरिन्छ ।
जनावरको मृत्यु भए पनि यी अंग झिकेर सुरक्षित गरिन्छ । किताबमा बर्दियाको एउटा प्रसङ्ग छ- ‘राजाको सवारी हुनुभन्दा अगाडि प्रधानसेनापति प्रज्वल शमशेर जबरा आउनु भयो । उहाँ आउँदा सिकारी र तस्करहरूबाट बरामद खाग, हात्तीका ठूला दाह्रा, बाघ र चितुवाका छाला प्रदर्शनीमा राखेका थियौँ । उहाँले भन्नुभयो, ‘कति राम्रो चिज हो ! बाघका छाला मलाई पठाइदिनु, म कार्यालय सजाउँछु।’
प्रधानसेनापतिले दिएको तर नियमले नमिल्ने यो निर्देशन एक जना सैन्य अधिकारी कार्कीले पूरा गरे कि के गरे ? यसको व्यवस्थापन पनि बडो चलाखीपूर्ण रूपमा भएको छ । ददि सापकोटाको छैटौँ कृति हो ‘ज्ञानिका’ । ‘पन्छी जगत्’बाट पुस्तक यात्रा सुरु गरेका सापकोटाले ६ मध्ये चार पुस्तक जीव, जनावर, वातावरणका बारेमा नै लेखेका छन् । ‘ज्ञानिका’ पनि मुख्य रूपमा जीवजनावरमा आधारित किताब हो ।
यसमा वातावरण संरक्षण, नदी, हिउँ, हिमाल, जलवायु परिवर्तन र अन्य साना–ठूला जीवजनावरको अनुसन्धान गरेका, त्यस्ता जनावरहरूको संरक्षण, उपचारमा पनि खटिएका, वनस्पति र जडिबुटी जोगाएका, प्राङ्गारिक कृषि अभियानमा लागेका, प्रदूषण नियन्त्रणमा जुटेका व्यक्तिहरूका अनुभव समेटिएका छन् । साथै नेपाली मौलिक बाजा र पर्यटनका कुरा पनि यसमा अटाएका छन् ।
अध्ययनशील व्यक्तिको अनुभव मात्रै हैन, उनीहरूको अध्ययन र रुचिको विषयले समाजमा पारेको प्रभावका बारेमा पनि किताबमा प्रकाश पार्न खोजिएको छ । सापकोटाले किताब तयार गर्न २१ जना व्यक्तिहरूका अन्तर्वार्ता लिएका छन् । जसको अन्तर्वार्ता लिइयो, उसैको प्रत्यक्ष कथनमा किताब लेखिएको छ । २१ मध्ये दुई जना महिला छन् । उनीहरूको कुराले ३८४ पृष्ठ भरिएको छ ।
यी २१ जनामध्ये केहीको विचार एक–अर्काको भन्दा विपरीत छ । जस्तै पर्यटनविद् रविजङ्ग पाण्डे निजगढमा विमानस्थल बनाउनु पर्दछ भन्ने मान्यता राख्छन् । अर्का वनविशेषज्ञ तेजबहादुर सिंह महत ‘कमिसनलाई निजगढको चक्कर’ भनेर यही किताबमा लेख्छन् ।
राजपरिवारलाई सिकार खेल्न रोक्न सैन्य अधिकारी बाबुकृष्ण कार्की अटाएको किताबमा सिकार पर्यटनको वकालत पनि छ । ‘जङ्गल बढाऔँ, जनावरको संख्या बढाऔँ, वातावरण जोगाऔँ । बढेको बढ्यै गरेर अति नोक्सान हुन लाग्यो भने सिकार खेल्न दिऔँ,’ किताबमा दीपकशम्शेर जङ्गबहादुर राणाले सिकारमार्फत् वन्यजन्तु संरक्षण र पर्यटनको अवसर छ भन्दै आफ्ना विचारहरू राखेका छन् । उनले अफ्रिकामा गैँडाको बढाबढ भएको, बाली नास्ने हात्ती सिकारीले मार्ने गरेको पाकिस्तान र अफ्रिकाको दृष्टान्त पनि दिएका छन् ।
त्यसैगरी अर्का वन्यजन्तु विशेषज्ञ राजेन्द्र सुवाल बालीमा पस्ने बँदेललाई राम्रो क्यालिबरको बन्दुकले हान्नकै ठाउँमा मार्ने र त्यसको खुर, छाला, दाँत प्रयोगका बारेमा सोच्नु पर्ने धारणा राख्छन् । दूरबिन सफा गर्न बँदेलको छाला प्रयोग हुने र अन्तर्राष्ट्रिय बजारमा बँदेलको छालाको सानो टुक्रा पनि एकदम महँगोमा बिक्री हुने सुवालले लेखेका छन् ।
त्यसैगरी मलाहा बिरालोमा विद्यावारिधि नै गरेकी रमा मिश्राले भनेकी छन्, ‘किसानलाई लाग्न सक्छ, माछा खाइदिन्छ, यो हाम्रो शत्रु हो । तर यसले माछा मात्रै खाँदैन । बरु किसानको सहयोगी नै हो । यो धेरै मिश्रित खानेकुरा खाने प्राणी हो । खेतीका मुसा, चरा सबै खान्छ ।’ तर माछा विज्ञ राजकपुर नापितको मत छ, ‘पानी बिरालो भनिने फ्याउरो जस्तो एउटा जीव छ, त्यो पल्के माछा खाएर खत्तम पार्छ ।’
यसरी विपरीत मत र मान्यता बोकेकाहरू एउटै पुस्तकमा अटाएका छन् । यसले पाठकलाई कुन सही या गलत भन्ने अन्यौल हटाउन थप तथ्य र आधार खोज्नु पर्ने हुन सक्छ । पुस्तकमा मसिना त्रुटिहरू पनि भेटिन्छन् । केही लेखहरूमा उही अर्थ लाग्ने वाक्य र अनुच्छेद दोहोरिएका छन् । रहु माछालाई रघु भनिएको छ । त्यसैगरी रेन्बो ट्राउटलाई टिलापिया भनिएको छ । जब कि यी माछाका दुई फरक जात हुन् ।
त्यसैगरी चितवनको जनसंख्या १६ लाख पुग्यो भनिएको छ र मतदाता आठ लाख छन् कि भन्ने वाक्य छ । जब कि चितवनको जनसंख्या सात लाख हाराहारीमा र मतदाता तीन लाख हाराहारीमा छन् । अलि कसिलो सम्पादन गरेको भए पुस्तक ३८४ पृष्ठसम्म पुग्दैन थियो कि भन्ने पनि लाग्छ । केही लेखहरू अलि लामो भए जस्तो अनुभव हुन्छ ।
फाइनप्रिन्टले प्रकाशन गरेको यो पुस्तक वन, वातावरण, जीवजनावर र यसको संरक्षण, अध्ययन अनुसन्धानमा संलग्न हुनेहरूका बारेमा बुझ्न सहयोगी छ । प्रायः विदेशमा पढेर स्वदेश आएर अनुसन्धानमा लागेकाहरू पुस्तकमा समेटिएका छन् । साथै स्कुले शिक्षा पनि पार नगरेका तर अनुभवले खारिएर दक्ष बनी विदेशसमेत पुगेर जीवजन्तु उद्धारका अनुभव साटेका व्यक्तिहरू पनि यो पुस्तकमा छन् ।
