चञ्चला राजको मिथिला विवाह परम्परासम्बन्धी पुस्तक विमोचन

पाँच वर्ष लगाएर मिथिलाको हरेक क्षेत्रमा हुने मौलिक परम्परा र रीतिरिवाजलाई समेट्दै यो पुस्तक तयार पारिएको लेखिका चञ्चला राजले बताइन् ।

कार्तिक ८, २०८२

कान्तिपुर संवाददाता

Chanchala Raj's book on Mithila marriage traditions released

What you should know

वीरगन्ज — मिथिला क्षेत्रमा विवाह संस्कारको आफ्नै संस्कृति र पहिचान छ । चार दिनसम्म चल्ने यो विवाह परम्परालाई लिपिबद्ध गर्दै लेखिएको पुस्तक 'मिथिला मे विवाह संस्कारक विशिष्ट परम्परा' को वीरगन्जमा आयोजित एक भव्य कार्यक्रमबीच विमोचन गरिएको छ । 

पूर्वमन्त्री लक्ष्मणलाल कर्णको प्रमुख आतिथ्यमा उक्त पुस्तकको विमोचन गरिएको छ । यस पुस्तक विमोचन समारोहलाई सम्बोधित गर्दै पूर्वमन्त्री कर्णले मिथिला विवाह परम्पराबारे लेखिएको यो पुस्तक आउँदो पुस्ताको लागि ग्रन्थ सरह भएको बताएका छन् । 

उनले मिथिला क्षेत्रमा विवाह सम्बन्धी रीति रिवाजबारे अनेकौं पुस्तक भए पनि केटा पक्ष र केटी पक्षबीच बिहेको कुराकानी सुरु भएको दिन देखि चार दिनसम्म चल्ने बिहे समारोहको पुरै परम्पराबारे र बिदाइ पछि केटा पक्षको घरमा चल्ने एक एक रीतिरिवाज बारे विस्तारपूर्वक लेखिएको मिथिलाको ग्रन्थ रहेको बताएका छन् । 

यस पुस्तककी लेखिका वीरगन्जकी प्रसिद्ध समाजसेवी महिला उद्यमी श्रीमती चञ्चला राजले यो पुस्तकबारे प्रकाश पार्दै मिथिला क्षेत्रमा हुने विशिष्ट विवाह परम्पराबारे सूक्ष्म तरिकाले जानकारी दिनुको साथै हरेक परम्पराको सामाजिक र वैज्ञानिक महत्त्वबारे जानकारी दिइएको बताइन् । 

पाँच वर्ष लगाएर मिथिलाको हरेक क्षेत्रमा हुने मौलिक परम्परा र रीतिरिवाजलाई समेट्दै यो पुस्तक तयार पारिएको लेखिका चञ्चला राजले आउने समयमा मिथिला क्षेत्रको विवाह समारोहमा यो पुस्तकको अत्यन्त महत्त्व हुने र यो विवाहको लागि एउटा अनिवार्य कुरा हुने बताएकी छन् । 

मिथिला क्षेत्रमा हुने विवाह समारोहमा सानो सानो विधि व्यवहार परम्परा र रीतिरिवाजबारे प्रायजसो विवाह गराउने पुरोहित र समाजका वयोवृद्धबीच वादविवाद हुने गरेको र कहिलेकाहीँ यही कारणले विवाह समारोहमा ठूलो विवाद पनि आउने गरेको बताउँदै लेखिका चञ्चला राजले अब यो पुस्तक आएपछि यस्ता समस्या नआउने र मिथिला क्षेत्रमा मान्यजन र विद्वतजनहरुले मान्यता दिएका कारण यो पुस्तक विवाहको विधान जस्तै बन्ने आफूले अपेक्षा लिएको बताएकी छन् । 

यस पुस्तकको भूमिका मैथिलिकी प्रसिद्ध साहित्यकार र भारत सरकारको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीबाट सम्मानित साहित्यकार डा. शेफालिका वर्माले लेखेकी छन् । विमोचन समारोहमा भिडियो सन्देशमार्फत आफ्नो शुभकामना पठाएकी वर्माले यस पुस्तकले नेपाल र भारतको मिथिला क्षेत्रमा मात्रै सीमित नभएर विश्वको जुनसुकै देशमा बसोबास गर्ने मिथिलवासीहरुको आफ्नो वैवाहिक परम्परा र रीतिरिवाजबारे ज्ञान आर्जित गर्नको लागि यो एउटा अनुपम उपहार रहेको बताइन् । 

यस पुस्तक विमोचन समारोहमा मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, चर्चित लेखक तथा वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठ, चित्रगुप्त समिति पर्साका अध्यक्ष महेश दासलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा मिडियाकर्मी प्रियंका पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिइन् भने हिन्दी भाषाका प्रसिद्ध लेखक एवं कवि प्रा. राजेन्द्र राहीले धन्यवाद ज्ञापन गरेको कुरा आयोजक समितिकी प्रमुख निहारिका दासले जानकारी दिएकी छन् ।

कान्तिपुर

Link copied successfully