कवि दाहालको 'एक अस्तित्व आलाप' लोकार्पण 

राजधानीको शिल्पी थियटरमा आयोजित कार्यक्रम कविहरू अविनाश श्रेष्ठ, मोमिला, शैलेन्द्र साकार, कृष्ण धरावासी, नारायण ढकाल र कुमार नगरकोटीले संग्रहको लोकार्पण गरेका हुन् ।

कार्तिक ४, २०८२

कान्तिपुर संवाददाता

Kavi Dahal's 'Ek Astitva Alap' released

काठमाडौँ — कवि मुकुल दाहालको कवितासंग्रह  'एक अस्तित्व आलाप' लोकार्पण भएको छ ।

राजधानीको शिल्पी थियटरमा आयोजित कार्यक्रम कविहरू अविनाश श्रेष्ठ, मोमिला, शैलेन्द्र साकार, कृष्ण धरावासी, नारायण ढकाल र कुमार नगरकोटीले संग्रहको लोकार्पण गरेका हुन् ।

लक्ष्मी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा विभिन्न कविहरूले कवि दाहालका कविता वाचन गरे । कविता वाचनसँगै चालीसको दशकमा सँगै कविता लेख्दाका अनुभूतिलाई कवि श्रवण मुकारुङले साझीकरण गरे । उनले भने, 'हामीले चितवनको जंगल सफारीमा रातरातभरि दोहोरो कविता वाचन गर्दा मुकुलजी अब्बल बन्नुभएको थियो । तीस वर्षपछि पनि उहाँका कविता अझै जब्बर बनेर आएका रहेछन् ।'

कवि मोमिलाले दाहालको प्रेमपत्र शीर्षकको कविता वाचन गरिन् भने कुमार नगरकोटीले कवि मुकुल दाहाललाई पहिलोपटक कथाकारको रूपमा समकालीन साहित्यमा पढेको स्मरण गर्दै 'झ्याल' शीर्षकको कविता वाचन गरे ।

त्यसैगरी कवि भीष्म उप्रेतीले सँगै बिताएका स्कुल जीवनका संस्मरणहरू प्रस्तुत गर्दै दाहालकै कविता सुनाए । त्यस्तै कवि विप्लव ढकालले पनि कवि दाहालका कवितामा कविताचेत र शक्ति भएको चर्चा गरे ।

कार्यक्रममा आफू विदेशिँदाको कथालाई प्रस्तुत गर्दै कवि दाहालले आफ्ना तीन कविता वाचन गरेका थिए ।

अढाई दशकदेखि बेलायतमा बसोबास गर्दै साहित्य साधनामा संलग्न कवि दाहालको यसअघि 'सीमा तीत सीमान्त' कवितासंग्रह २०६१ सालमा प्रकाशन भएको थियो । चार दर्जन कविताहरूको संग्रह 'एक अस्तित्व आलाप'लाई बुकहिलले बजारमा ल्याएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully