प्रतिभा प्रतिष्ठान बेलायतले किरातीलाई विशिष्ट प्रतिभा सम्मान र चौधरीलाई पुरस्कार दिने

सम्मानित र पुरस्कृत हुने दुवैलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

कार्तिक १, २०८२

कान्तिपुर संवाददाता

Pratibha Foundation UK to give special talent award to Kirati and award to Chaudhary

What you should know

काठमाडौं — नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्ष ‘विशिष्ट प्रतिभा सम्मान’ अग्रज स्रष्टा कवि जसराज किरातीलाई दिने घोषणा गरेको छ । यसैगरी संस्थाले दिँदै आएको ‘प्रतिभा पुरस्कार’ युवा पत्रकार तथा लेखक विजेता कर्ण चौधरीलाई प्रदान गर्ने पनि घोषणा गरेको छ । 

नेपाली प्रतिभा प्रतिष्ठानको कार्यसमिति बैठकपछि शनिबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार यो वर्षको विशिष्ट प्रतिभा सम्मान नगद एक लाख रुपैयाँ, ताम्रपत्र र दोसल्ला रहेको छ । यसैगरी प्रतिभा पुरस्कार नगद एक लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।

प्रतिष्ठान अध्यक्ष टंक वनेमका अनुसार संस्थाले विशेष परिस्थितिमा मात्र विशिष्ट सम्मानको व्यवस्था गरेको छ । यसअघि संस्थाले वरिष्ठ कवि बैरागी काइँलालाई मात्र विशिष्ट सम्मानले सम्मानित गरेको छ ।

२००२ साउन १७ गते खोटाङको मैचुङगाउँ, बुइपा–६ मा जन्मेका किराती बाल्यकालदेखि कविता लेखनमा सक्रिय रहँदै आएका छन् । उनको पहिलो कृति उज्यालो खोज्ने आँखाहरू (२०३६), जसराज किरातीका कविता कवितासंग्रह, २०५७ र जसराज किरातीका प्रतिनिधि कविता कवितासंग्रह (२०६४) प्रकाशित छन् । 

यसैगरी सन् १९८१ मा धनुषाको जनकपुरधाममा जन्मेकी विजेता चौधरीले मैथिली भाषा साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहेकाले प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको प्रतिष्ठानका उपाध्यक्ष मिजास तेम्बेले बताए । चौधरीको ‘धाराक विरूद्ध’ मैथिली कवितासंग्रह (सन् २०१९), र ‘कर्फ्यु’ कथासंग्रह सन् २०२० (मैथिली) तथा ‘चुप्पी चिकरैछ निःशब्ध निशब्ध’, २०२१, एक पंक्ति कविता संग्रह (लेखिकाद्वारा प्रथम प्रयोग) कृतिहरु प्रकाशित छन् । 

किराती र चौधरीलाई आगामी मंसिरमा काठमाडौंमा हुने समारोहमा प्रतिभा सम्मान र प्रतिभा पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाद्वारा प्रदान गरिने प्रतिष्ठानले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully