यसका लेखक तीर्थ गुरुङलाई एक लाख ५० हजार ६० रुपैयाँ प्रदान गरिएको छ ।
What you should know
चितवन — तीर्थ गुरुङको उपन्यास 'हिउँको गीत'लाई शनिबार कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार अर्पण गरिएको छ । पुरस्कारको राशी एक लाख ५० हजार ६० रुपैयाँ रहेको छ ।
चितवन भरतपुरको साहित्यिक संस्था कविडाँडा साहित्य समाजले वर्षभरिका आख्यान (कथा र उपन्यास) मध्ये उत्कृष्ट छनोट गरी पुरस्कृत गर्दै आएको छ ।
उपन्यास २०८१ सालमा प्रकाशित भएको थियो । पुरस्कारको राशी यसै वर्षबाट एक लाख ५० हजार रूपैयाँ पुर्याइएको हो । संस्थाले २०७५ सालदेखि आख्यान पुरस्कार दिन सुरु गरेको हो । सुरुमा पुरस्कारको राशी ३० हजार थियो । २०७९ सालदेखि एक लाख २५ हजार रुपैयाँ थियो । यसै पटकदेखि आख्यान पुरस्कारको राशी बढाउनुका साथै आउँदो वर्ष एक लाख ५० हजार रुपैयाँकै कविडाँडा प्रतिभा पुरस्कार पनि दिन सुरु गर्ने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले घोषणा गरेका छन् ।
पुरस्कृत उपन्यासका बारेमा समीक्षक केशव चालिसेले हिउँको गीत आदिवासीका विषयमा आदिवासी समुदायका व्यक्तिले लेखेको बताए । उपन्यासमा सात सय वर्षअघि गुरुङ समाजको सामाजिक यथार्थ झल्कने उनको भनाइ थियो । यसमा राजनीतिक कुरा पनि समावेश भएको तर सपाट रूपमा नभएको र सांस्कृतिक पक्षलाई राम्रोसँग समेटेको चालिसेको टिप्पणी थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले पनि शुभकामना मन्तव्य राखे । महेश पौड्याल कि-नोट स्पिकर थिए भने भूपिन खड्काले पुरस्कृत लेखक गुरुङको परिचय राखेका थिए । लेखक तथा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले पनि आफ्ना भनाइ राखेका थिए ।
