मदन पुरस्कार र जगदम्बा-श्री प्रदान

मदन पुरस्कार गुठीले आइतबार नेपाली लोकभाकाका संकलक एवं संरक्षक प्रेमदेव गिरीलाई जगदम्बा-श्री सम्मान र ‘उरमाल’ कृतिका लेखक छुदेन काविमोलाई मदन पुरस्कार प्रदान गरेको हो ।

आश्विन २७, २०८२

कान्तिपुर संवाददाता

Madan Award and Jagadamba-Mr

काठमाडौँ — मदन पुरस्कार गुठीले २०८१ सालका लागि जगदम्बाश्री सम्मान र मदन पुरस्कार प्रदान गरेको छ । मदन पुरस्कार गुठीले ललितपुरको पाटनस्थित कमलमणि थिएटरमा आयोजना गरेको कार्यक्रममा आइतबार नेपाली लोकभाकाका संकलक एवं संरक्षक प्रेमदेव गिरीलाई जगदम्बा-श्री सम्मान र ‘उरमाल’ कृतिका लेखक छुदेन काविमोलाई मदन पुरस्कार प्रदान गरेको हो ।

सम्मानित एवम् पुरस्कृत स्रष्टाद्वयलाई सम्मानपत्रका साथ चार–चार लाख रुपैयाँ प्रदान गरियो । कार्यक्रममा संस्कृतिविद् प्रा.डा. वीणा पौड्यालले ‘कला, प्रतिमा र संरक्षण’ शीर्षकमा विद्वत् प्रवचन दिएकी थिइन् । पुरातत्त्वले मानिसको विगतलाई प्रमाणसहित उजागर गर्ने भएकाले यसको जगेर्ना गर्नु सबैको दायित्व भएको उनको भनाइ छ ।

कार्यक्रममा ‘उरमाल’ का लेखक काविमोले प्रेम र साहित्यको सिमाना नहुने बताए । ‘साहित्यले जहिले पनि वञ्चित, शोषित र मानवीय विषयसँग सम्बन्ध राख्छ । म त्यही मान्छेभित्रको मान्छेलाई बचाइराख्न हरसमय लेखिरहन उत्प्रेरित हुन्छु,’ उनले भने । काविमो भारतीय मूलका साहित्यकार हुन् ।

लोकभाकाका संकलक एवं संरक्षक गिरीले २०२५ सालदेखि रंगमञ्चीय यात्रा सुरु गरेका थिए । उनले २०४३ देखि २०४५ सालसम्म रेडियो नेपालमा मादलको ताल दिँदै कर्णाली–भेरीका दुर्गम गाउँबस्तीका लोकगीत र लोकभाकालाई संकलन गर्दाको अनुभवसमेत सुनाएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully