‘विपना कतिपय’ र ‘वैकुण्ठ एक्सप्रेस’ को पुनर्मुद्रण बजारमा

इन्द्रबहादुर राई र मोहनराज शर्माका यी किताबलाई इम्प्रिन्टले क्लासिक–सिरिजअन्तर्गत बजारमा ल्याएको हो ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Reprints of 'Vipna Kakha' and 'Vaikunth Express' in Bazar

What you should know

काठमाडौँ — नेपाली साहित्यका धरोहरद्वय इन्द्रबहादुर राई र मोहनराज शर्माका दुई किताब पुनर्मुद्रण भएर बजारमा आएका छन् । राईको कथा–किताब ‘विपना कतिपय’ र मोहनराज शर्माको विसं २०४२ मा मदन पुरस्कारप्राप्त नाटक ‘वैकुण्ठ एक्सप्रेस’लाई इम्प्रिन्ट पब्लिसर्सले बजारमा ल्याएको हो । 

मदन पुरस्कार पाएको हालसम्मको एकमात्रै नाट्य–किताब हो– ‘वैकुण्ठ एक्सप्रेस’ । ‘अभिव्यञ्जनावादी प्रयोगात्मक शिल्पमा संरचित नाटक वैकुण्ठ एक्सप्रेस नाटककार मोहनराज शर्माको एउटा उत्कृष्ट कृति हो,’ कथाकार, नाटककार, सम्पादक अविनाश श्रेष्ठ भन्छन्, ‘तर, अहिलेसम्म यो नाटकमाथि नेपाली रंगकर्मीहरूको सुदृष्टि नपर्नु र यस्तो सशक्त नाटकको एकपटक पनि मञ्चन नहुनु भने विडम्बनापूर्ण छ ।’ आफ्नै किताबमाथि मोहनराज शर्माले लेखेका छन्, ‘यो नाटक भित्री तहमा त्रासद छ, तर बाहिरिया तहमा चाहिँ हास्यपूर्ण र मनोरञ्जनात्मक छ ।’

सन् १९६० मा पहिलोपटक प्रकाशित इन्द्रबहादुर राईको कथासंग्रह ‘विपना कतिपय’ भित्रका कथा पारम्परिक र सूत्रबद्ध नेपाली कथा परम्पराभन्दा बाहिर प्रयोगात्मक शैलीमा लेखिएका छन् । ‘विपना कतिपय’ मा प्रख्यात कथाहरू ‘रातभरि हुरी चल्यो’, ‘जार: भएकै एउटा कथा’, ‘जयमाया आफूमात्र लेखापानी आइपुगी’, ‘चपरासी’ लगायत २३ कथा संगृहीत छन् ।

नेपाली बजारमा अप्राप्त ‘विपना कतिपय’ मा ६ दशकअघिको नेपाली समाज–संस्कृति चियाउन सकिन्छ । ‘विपना कतिपय’ माथि कथाकार राई लेख्छन्, ‘कमानमा जुनी बिताउने, कलकत्तातिर रैथाने भएर बसेका, अचेल नेपाल पस्न लागेका नेपालीहरूका कथाहरू लेख्नै भ्याइएन... यसरी कतिपय विपनाहरू यहाँ संकलित छन्, तर लेख्न चाहेको अनेक विपना बाहिरै रहे ।’

यी दुवै किताबलाई इम्प्रिन्टले क्लासिक–सिरिजअन्तर्गत बजारमा ल्याएको हो ।

कान्तिपुर

Link copied successfully