‘ब्ल्याकहोलमा गीतहरू’ भित्र ४५ कविता समावेश छन्, जसले नारी–पुरुष जीवन भोगाइ, सामाजिक बेथिति, सांस्कृतिक उत्पीडनमाथि गम्भीर विमर्श गरेको छ ।
काठमाडौँ — धरानकी कवि डा. अस्मिता विष्टको पहिलो कविता–किताब ‘ब्ल्याकहोलमा गीतहरू’ शनिबार धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा विमोचन भएको छ ।
किताबको विमोचन प्रदेश–१ का पूर्वप्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले गरेका थिए । ‘विष्टका कविताहरूले व्यक्तिगत रूपमा मलाई प्रभावित पार्यो,’ उनले भने, ‘यी कवितामा नयाँ समयको स्वाद अनुभव भेटिन्छ ।’
तुम्बाहाङले नेपाली कविता अङ्ग्रेजी साहित्यको तुलना गर्न लायक भएको बताउँदै थपे, ‘मैलै अङ्ग्रेजी साहित्य पढ्दा बुझ्न जति कठिन लाग्थ्यो, त्यस बेला नेपाली साहित्य सरल थियो, अहिले आएर बुझ्न कठिन हुँदै गएको छ ।’
विमोचनपछि भएको समीक्षात्मक सत्र कार्यक्रममा कवि टीका आत्रेयले संग्रह अब्बल भएको बताइन् । ‘यी कवितामा नारीवादी दृष्टिकोण सशक्त रूपमा प्रस्तुत भएको छ,’ उनले भनिन् । उनले विष्टले पुरातन संस्कृतिका रुढिवादी अभ्यासलाई चुनौती दिएको बताइन् । उपप्राध्यापक दीपक न्यौपानेले पुस्तकमा प्रयुक्त विम्ब र प्रतीकको सशक्त प्रयोगको प्रशंसा गरे ।
कवि चन्द्र गुरुङ, करुणा राई, सुदीप पाख्रिन, सविता फागो चोङवाङ, श्रेया खड्का लगायतले किताबका कविता वाचन गरे ।
विष्टले दुई दशकदेखि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अंग्रेजी विषय प्राध्यापन गर्दै आएकी छन् । लैंगिक दृष्टिकोणबाट नेपाली आख्यान र चलचित्रमाथि उनका चार दर्जनभन्दा बढी लेख प्रकाशित छन् ।
इन्डिगो इन्कबाट प्रकाशित ‘ब्ल्याकहोलमा गीतहरू’ मा ४५ वटा कविता समावेश छन्, जसले नारी–पुरुष जीवन भोगाइ, सामाजिक बेथिति, सांस्कृतिक उत्पीडनमाथि गम्भीर विमर्श गरेको छ । किताबको मूल्य ३४९ रुपैयाँ रहेको छ ।
