थापाले सोलुदुधकुण्ड नगरपालिकाभित्रका सांस्कृतिक, धार्मिक एवं जीवनशैलीबारे तस्बिर पुस्तक तयार पारेका हुन् ।
काठमाडौँ — सोलुदुधकुण्ड नगरपालिका क्षेत्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्बिर पुस्तक ‘डेस्टीनेशन सोलुदुधकुण्ड’ सार्वजनिक भएको छ।
सोलुदुधकुण्ड नगरपालिकाको प्रकाशन र लेखक तथा पत्रकार भरतबन्धु थापाले तयार पारेको पुस्तक एक कार्यक्रमकाबीच नगरपालिका प्रमुख र जनप्रतिनिधिहरुले संयुक्त विमोचन गरेका छन् ।
थापाले सोलुदुधकुण्ड नगरपालिकाभित्रका सांस्कृतिक, धार्मिक एवं जीवनशैलीबारे तस्बिर पुस्तक तयार पारेका हुन् ।
पुस्तकको विमोचनपछि बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले सोलुदुधकुण्ड नगरपालिका प्राकृतिक स्रोतले मात्र नभएर कला र संस्कृतिको पनि धनी नगर भएको बताए ।
हिमाल हेर्न कहाँ जाने?, सगरमाथा आधार शिविर नै पुग्नुपर्दछ भन्ने छैन सोलु दुधकुण्डन नगरको दक्षिणी भेगमा अवस्थित पिके पिक पुगियो भने विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूको श्रृंखला एकैपटक नियाल्न सकिन्छ । यही कारणले हुनसक्छ, सर एडमण्ड हिलारीलेसमेत यसलाई ‘सगरमाथा हेर्ने सबैभन्दा उत्कृष्ट दृश्य बिन्दु’ भनेका थिए ।
उनले नगरपालिका भित्रका प्राचीन सांस्कृतिक विरासतयुक्त सम्पदा, ऐतिहासिक स्थल, कला र परम्परा झल्काउने तस्बिरसहित सोलुदुधकुण्ड नगरपालिका समावेश यो संग्रहले सोलुखुम्बु जिल्लाकै पर्यटन, प्रवर्द्धन र विकासमा सहयोग पुर्याउने दाबी गरे ।
सोलुदुधकुण्ड नगरपालिकाका विभिन्न मौसममा आठ पटक यात्रा गरेर क्यामेरामा कैद गरेका तस्बिरहरु पुस्तकमा समावेश गरिएको लेखक भरतबन्धु थापाले बताए । विगत दुईदशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रलाई आधार बनाएर पत्रकारिता गरिरहेका थापाले यसअघि वाईल्ड वेष्ट नेपाल, गन्तव्य कर्णाली, एक्सपोलर फारवेष्ट ,गन्तव्य मध्यपुर, तस्बिरमा नेपाल, नेपाल ईन ईमिजेज, पञ्चकोशी दैलेख पुस्तक सार्वजनिक भइसकेका छन् ।
