समीक्षक राजकुमार बानियाँले विश्वका चर्चित महाकाव्यहरूको उदाहरण दिँदै नेपाली भाषामा यस प्रकारको काव्य लेखिनु नेपाली भाषाकै गौरव भएको बताए ।
What you should know
काठमाडौँ — कवि नवराज लम्सालको नयाँ महाकाव्य कल्प सार्वजनिक भएको छ । यो उनको चौथो महाकाव्य हो । नेपाली महाकाव्य लेखनको मानक यात्रा तय गरेका लम्साल अग्नि महाकाव्यका लागि २०७८ सालको मदन पुरस्कार विजेता कवि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहबीच उनको महाकाव्य कल्प सार्वजनिक गरिएको हो ।
पूर्वमन्त्री तथा सांसदहरू गगन थापा, विद्या भट्टराई, सुदन किराँती, सांसद मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयंले संयुक्त रूपमा कल्प सार्वजनिक गरेका थिए । यसअघि कर्ण, धारा र अग्नि तीन महाकाव्य प्रकाशित गरिसकेका लम्सालको यो महाकाव्यलाई प्रतीक्षाका साथ हेरिएको थियो ।
महाकाव्य लेख्नैका लागि रेडियो नेपालको जागिर छोडेर लेखनमा क्रियाशील लम्साल आफैंले यस महाकाव्यलाई आफ्नो मस्तिष्क निचोरिएको बताएका छन् । लम्साल समकालीन लेखकहरूमा तुलनात्मक रुपमा अध्ययनशील गम्भीर र पूर्वीय दर्शनको गहिरो जानकार मानिन्छन् । यो उनको वैश्विक चेतनाले भरिएको उच्चस्तरको महाकाव्य मानिएको छ । उनलाई नेपाली महाकाव्यको पुनर्जागरण युगको नेतृत्व गरेको जस जाने गरेको छ ।
विमोचन समारोहमा कांग्रेसका महामन्त्री समेत रहेका पूर्वमन्त्री तथा सांसद गगन थापाले नवराज लम्सालको प्रतिस्पर्धा नवराज लम्सालसँग मात्र भएको बताए । उनले लम्साल २०६२ को आन्दोलन यताको केन्द्रीय साहित्यिक व्यक्तित्व भएको बताए । कुनै दलको झ्रन्डा नबोके पनि कुनै पनि राजनैतिका दलका नेताभन्दा कम राजनीतिक चेतना लम्सालसँग छैन भन्दै उनले भने त्यही चेतनाका कारण उनका काव्य उच्चस्तरका, वैचारिक र राजनीतिक नेतृत्वले पनि पढ्नै पर्ने भएको हो ।
एमाले नेतृ, पूर्वमन्त्री तथा सांसद विद्या भट्टराईले भनिन्, 'नवराज लम्सालको वैचारिक धरातल निकै गहिरो पाएँ । कल्प पढेपछि कविको विश्वदृष्टि निकै राम्रो पाएँ ।'
कार्यक्रमका अर्का अतिथि माओवादी केन्द्रका नेता पूर्वमन्त्री तथा सांसद सुदन किरातीले भने, 'लम्साल सिमान्तकृत जाति आदिवासी महिला र मधेशीको सांस्कृतिक विम्ब र पहिचानका गहिरो लेखक हुन् ।'
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले लम्सालले मधेशलाई जुरुक्क उठाएर आफ्नो बोली राख्न नसक्ने जनताको बोलीलाई कविताको भाषा दिएर देशलाई जोडेको बताए ।
समीक्षक राजकुमार बानियाँले विश्वका चर्चित महाकाव्यहरूको उदाहरण दिँदै नेपाली भाषामा यस प्रकारको काव्य लेखिनु नेपाली भाषाकै गौरव भएको बताए । महाकाव्य हुनका लागि जति चिन्तन बौद्धिकता र गहिराई चाहिन्छ, नवराज लम्सालले त्यसको सीमा पार गरेको उनले दाबी गरे ।
कल्प शिखा बुक्सले प्रकाशन गरेको हो । लम्सालका चार महाकाव्य, तीन कवितासंग्रह र दुई गीतसंग्रहसहित नौ पुस्तक प्रकाशित छन् ।
