साहित्यकार र विद्यार्थीबीचको अन्तरक्रियामा पठन संस्कृतिको गहिरो विश्लेषण गर्दै डिजिटल युगमा यसको सन्तुलनबारे विचार आदानप्रदान गरियो।
What you should know
काठमाडौँ — अन्तर्राष्ट्रिय साक्षरता दिवस–२०२५ को अवसरमा संस्कृति इन्टरनेसनल स्कुलले ‘डिजिटल युगमा साक्षरता प्रवर्द्धन’ भन्ने नाराका साथ विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले साक्षरता सप्ताहकै नियमित कार्यक्रमअन्तर्गत आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालय निर्देशक दिप्ती आचार्य, प्रधानाध्यापक तिमिला श्रेष्ठ, सह–प्रधानाध्यापक अमित मन्त्रीलगायत विद्यालय प्रशासनका प्रतिनिधि र विद्यार्थीहरूको विशेष उपस्थितिमा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो । कार्यक्रमको सहजकर्ताको भूमिका विश्व सिग्देलले निर्वाह गरेका थिए ।
विशेष वक्ताका रूपमा सञ्चारकर्मी तथा साहित्यकार दीपक समिर, कवि शकुन्तला जोशी र पुस्तक व्यवसायी तथा प्रकाशक सुदेश डोटेलले आ–आफ्ना विचार राखेका थिए । उनीहरूले पठन संस्कृतिको महत्त्व, डिजिटल युगमा साक्षरता विस्तारका अवसर र चुनौतीबारे गहन विश्लेषण गर्दै विद्यार्थीहरूसँग अनुभव बाँडे ।
सञ्चारकर्मी दीपक समिरले बाल्यकालमा पढेका पुस्तकहरूले आफूलाई जीवनको मार्गदर्शन गरेको अनुभव सुनाउँदै आजको पुस्तामा पुस्तक पढ्ने बानी कमजोर हुँदै गएको भन्दै यसलाई डिजिटल प्रविधिसँग सन्तुलन गर्नुपर्ने बताए । अहिले पढ्ने, ज्ञान लिने अनेक डिजिटल माध्यम भए पनि पुस्तकका पानालाई भौतिक रूपमै बोध गर्दै पढ्दाको आनन्द, त्यसले दिने गहिरो अनुभूति अन्यत्रबाट नपाइने अनुभव पनि सुनाएका थिए ।
कवि शकुन्तला जोशीले बाल्यकालमा दुर्गम पहाडी गाउँमा बुबाको पुस्तकालयबाट विश्व साहित्यका किताब पढ्न पाएको अनुभव सुनाइन् । कुनै सञ्चारमाध्यम नभएको त्यो कालमा किताबले नै आफूलाई विश्वसँग जोडेको बताउँदै यस डिजिटल युगका पुस्तालाई पुस्तक अध्ययनको सौन्दर्यबारे जोड दिएकी थिइन् । अहिलेका ‘जेनेरेसन जेड’ पुस्ताले डिजिटल प्रविधिमार्फत् ज्ञान र सूचना प्राप्त गर्न जति सहज छ, यसको असावधानीपूर्ण प्रयोगले व्यक्ति सामाजिक सम्बन्धबाट कट्दै जाने खतरा पनि त्यति नै रहेको बताइन् ।
प्रकाशक सुदेश डोटेलले अतिरिक्त पुस्तक पठनले सिर्जनात्मकता र समालोचनात्मक सोचलाई सबल बनाउने भन्दै नयाँ पुस्ताले डिजिटल साक्षरतासँगै पुस्तक संस्कृतिलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । नयाँ पुस्तालाई पठन संस्कृतिसँग जोड्न शिक्षक तथा अभिभावकलाई नै पहिले पठन संस्कृतिसँग जोड्न आफूहरूले अभियान चलाइरहेको बताए । साथै पठन संस्कृतिबारेको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले एक सयभन्दा बढी देशको वार्षिक सरदर पुस्तक पढाइमा अमेरिका सबैभन्दा अगाडि देखिएको, भारत, पाकिस्तानसम्म पनि पर्दा नेपाल सूचीमै नपरेको देखिनु हाम्रो पठन संस्कृति निकै पछाडि रहेको संकेत भएको बताए ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले साहित्य, डिजिटल प्रविधि, पठन संस्कृतिको भविष्य, पुस्तक छनोट, पढ्न समय निकाल्ने उपाय, पढाइप्रति उत्साह जगाउने तरिका जस्ता विषयमा वक्ताहरूसँग जिज्ञासा राखेका थिए । प्रश्नोत्तर सत्रमा विद्यार्थीहरूले आफ्ना जिज्ञासा राख्दा वक्ताहरूले प्रष्ट जवाफ दिँदै व्यावहारिक सुझाव पनि दिएका थिए ।
विद्यालय प्रशासनले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै पठन संस्कृतिको निरन्तर प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाइने जानकारी दिएको थियो ।
