नन्दनले लेखेका गीत प्रस्तुत गर्ने सिलसिला सुरु भयो । उनका बारेमा कला मन्दिरका पूर्वअध्यक्षहरु र साहित्यकारले जानेका सम्झेका कुरा बीचबीचमा सुनाउँदै गए ।
What you should know
चितवन — साहित्यकार प्रेमविनोद नन्दनको देहवसान भएको शुक्रबार १३ दिन पूरा भयो । दिवंगत नन्दनको १३ औं दिनको पुण्यतिथिमा चितवन नारायणगढको पुरानो सांस्कृतिक संस्था नारायणी कला मन्दिरले शुक्रबार साँझ श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्यो ।
नन्दन कला मन्दिरका पूर्वअध्यक्ष पनि हुन् । कविता, गीत र गजल लेखनमा राष्ट्रिय ख्याति कमाएका नन्दनको सम्झनामा कला मन्दिरमा उनले लेखेका गीतहरु गुञ्जिए ।
नन्दन वनको बगैंचाभित्र फूल फुल्यो प्रेमको
परन्तुसम्म गीत गाइरहो, माटो र मुटुको ।
नन्दनको निधनपछि उनको सम्झनामा कला मन्दिरका पूर्वअध्यक्ष प्रभातकुमार जोशीले रचना गरेको यो गीत कला मन्दिरका अर्का पूर्वअध्यक्ष सहन प्रधानको संगीतमा कला मन्दिरकै पूर्वअध्यक्षहरु र पदाधीकारीले सामूहिक रुपमा गाएर कार्यक्रमको सुरुवात गरे । ‘स्मृति गान’पछि रविकिरण निर्जीव र चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष केदारनाथ खनालले नन्दनको व्यक्तित्वबारे चर्चा गरे ।
चलचित्र मोहनीको नन्दनद्वारा रचित लोकप्रिय गीत ‘यो गाउँको ठिट्टो म, कान्छा मेरो नाम’ गाए कला मन्दिरका कोषाध्यक्ष प्रवीणकुमार श्रेष्ठले । त्यसपछि नन्दनले लेखेका गीत प्रस्तुत गर्ने सिलसिला सुरु भयो । उनका बारेमा कला मन्दिरका पूर्वअध्यक्षहरु र साहित्यकारले जानेका सम्झेका कुरा पनि बीचबीचमा सुनाउँदै गए । अन्तिममा ‘स्वर्गको सुन्दर सपना हाम्रो....’ सामूहिक गायनपछि कार्यक्रम समापन भयो ।
नन्दन १९९२ साल जेठमा तनहुँ बन्दीपुरमा जन्मेका हुन् । नेवार समुदायका उनले थरमा श्रेष्ठ नभएर नन्दन लेख्दै आए । नन्दनको २०११ सालमा नै गीतिसंग्रह ‘झटारो’ प्रकाशित भएको थियो । बन्दीपुरका नेवार समुदाय व्यापारका सिलसलामा चितवन नारायणगढ बसाइ सरेका हुन्थे । नन्दनले पनि नारायणगढ आएर व्यापार नै गरे । साथै गीत, कविता र गजलमार्फत उनले देशप्रेम, विद्रोहका अनि माया प्रेमलाई अभिव्यक्त गरिरहे ।
जिरा र मरिच पारेर पोको स्वाद बेच्थे दोकानमा ।
ढल्की र भुच्चे समे बजि संस्कृति काखैमा ।
गीतमा उनले पिरती लाउँदा मादलु घन्किन्थ्यो ।
अक्षर आफै कविता बनी भाषामा पोखिन्थ्यो ।
नन्दनको सम्झनामा प्रभातकुमार जोशीले लेखेको स्मृति गानको यो हरफले नन्दनको व्यापारिक कर्मदेखि साहित्यिक व्यक्तित्वलाई उजागार गरेको छ । २०१५ सालदेखि चितवनमा सक्रिय नन्दनले २०१९ सालमा खुलेको कला मन्दिरको विकासमा महत्वपूर्ण योगदान दिए । कला मन्दिरको उद्देश्य लेखन नै नन्दनले गरेको वर्तमान अध्यक्ष रोहितकुमार श्रेष्ठले सुनाए । नन्दन कला मन्दिरको २०२८ सालदेखि २०३५ सालसम्म अध्यक्ष रहे ।
