गीत-गजलमा बाँचिरहनेछन् नन्दन

सोमबार बिहान नारायणी कला मन्दिरको आँगनबाट नन्दनको अन्तिम यात्रा लाग्यो, देवघाटतर्फ । त्यसअघि उनको उही प्रिय गीत ‘यो गाउँको ठिटो म, कान्छा मेरो नाम’ गाएकी थिइन्, छोरी बेगम श्रेष्ठले ।

भाद्र २, २०८२

रमेशकुमार पौडेल

Nandan will live on in songs

What you should know

चितवन — यो गाउँको ठिटो म, कान्छा मेरो नामआउँदै जाँदै गर्नु है सबलाई राम-राम

उदितनारायण झा र उनका छोरा आदित्यनारायणको स्वरमा रहेको नेपाली चलचित्र ‘मोहनी’को यो लोकगीतका रचनाकार हुन्, प्रेमविनोद नन्दन । उनै नन्दन अब कहिल्यै नआउने गरी बिदा भएका छन् ।

पातलो शरीर, वृद्ध वयका नन्दनको सक्रियता पछिल्लो समयसमेत लोभलाग्दो थियो । उमेरले नेटो काट्न थालेको संकेत उनका रचनामा हुँदैन थियो । कोरोनाकालपछि सार्वजनिक कार्यक्रममा कमै देखिँदै आएका नन्दनले आइतबार राति साढे ९ बजे चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा अन्तिम स्वास लिए । 

किन सोध्यौ मेरो उमेर सत्तरी कि सत्र

सक्छौ भने लेखे हुन्छ अझै प्रेमपत्र

चितवनमा नन्दन पुगेका धेरै कार्यक्रममा उनले यो शृंगारिक गजल सुनाउनैपर्थ्यो । उनी सहर्ष पारखीहरुको फर्माइस पूरा गर्थे । यो गजल लेख्दा र वाचन गर्दा उनको उमेरले ७० काटेको थियो । जब एफएम रेडियो खुल्ने क्रम सुरु भयो, चितवनमा २०५८ कात्तिकदेखि सञ्चालनमा आयो सिनर्जी एफएम । यसमा अर्जुनमणि पौडेल गजलसम्बन्धी कार्यक्रम 'अनुराग' चलाउँथे । 

अर्जुनले नन्दनलाई कार्यक्रममा जोडे ‘गजलमा दोहोरी’ मार्फत । जसमा शीतल कादम्बिनी र नन्दनबीच गजल दोहोरी चल्थ्यो । यो कार्यक्रमले चितवनमा गजलको माहोललाई हृवात्तै बढायो । सिनेमा र शृंगारिक गजल मात्रै पहिचान होइनन् नन्दनका । उनमामा विद्रोह चेत पनि थियो र थियो राष्ट्रभक्ति । ०६२/६३ को जनआन्दोलनपछि नयाँ राष्ट्रियगानका लागि देशभरबाट आहृवान भयो । उनको रचना उत्कृष्ट १० मा परेको थियो ।

हक माग्दा राखेमा तगारो

हान्नुपर्छ क्रान्तिको झटारो 

नन्दनको २०११ सालमा नै पहिलो गीतसंग्रह 'झटारो' निस्केको थियो र त्यसैमा समावेश पंक्ति हुन् यी । २०२३ सालमा प्रकाशित 'सपनीबाट ब्युँझेर' कवितासंग्रहमा पनि उनले यस्तै जोसिला हरफ कोरेका छन् । यो संग्रहमा उनले लेखेका छन्- 

उठउठ तन्नेरी हो बाहाँ फुकाउँदै

बिहानको हिमालझैं शिर उठाउँदै 

यसरी हेर्दा नन्दनको शब्दको संसारमा धेरै कुरा अटाएको देखिन्छ । देश, समाज, साथी, प्रेम सबैलाई उनले शब्दहरुमा समेटेका छन् ।

उनी १९९२ जेठमा तनहुँको बन्दीपुरमा जन्मिए । नेवार समुदायका नन्दन २०१५ सालतिर नारायणगढ झरेर व्यापारमा लागे । बन्दीपुरका धेरै नेवार समुदायका व्यक्ति व्यापारकै सिलसिलामा नारायणगढ आइपुगेका हुन् । नन्दनले व्यापार सम्हाले पनि साहित्यलाई त्यागेनन् । 

पुलचोकबाट जाँदा पुतली बजार चोक नपुग्दै आउने नारायणगढ मेनरोडको पुरानो घरमा रहेको किराना पसलमा प्राय: भेटिन्थे उनी । उनका शब्द सुन्दा उनी वृद्ध अवस्थाका व्यक्ति हुन् भन्ने कल्पना पनि मनमा आउँदैन थियो । व्यापार गरे पनि साहित्यिक जमघटमा जुट्ने जाँगर उनले सधैं राखे ।

नरोक्नु कहिल्यै यात्री थकाइ मान्नु हुन्न है

औंसीको रातमा बल्ने दियालो निभ्न हुन्न है 

१३ वर्षअघि वैशाखमा नन्दनले नारायणी कला मन्दिरमा आयोजित एकल रचना वाचन कार्यक्रममा माथिका यी दुई पंक्ति पस्किएका थिए । कला मन्दिर चितवनकै सबैभन्दा पुरानो सांस्कृतिक संस्था हो । जसको नेतृत्व पनि गरे नन्दनले । सोमबार बिहान सोही कला मन्दिर प्रांगणमा उनको पार्थिक शरीर केहीबेर रह्यो । अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि धेरैजनाको उपस्थिति त्यहाँ देखिन्थ्यो ।

साहित्यमार्फत राष्ट्रिय परिचय बनाएका, राष्ट्रकवि माधव घिमिरेबाट नेपाली साहित्यको ‘गोल सिमल’ उपनाम पाएका नन्दनले चितवनलाई नै आफ्नो सर्वस्व ठाने । उनी अरुलाई आहृवान गर्थे- चितवन नै आऊ ।

मलाई भेट्ने भए तिमी चितवनमै आउनु

रुख चढी हाँगाबाट हरियाली गाउनु,

मान्छे मात्र टाढा हामी मनले टाढा छैनौं 

यो धर्ती र आकाशझैं हामी आधार हैनौं  

कला मन्दिरको सोही कार्यक्रममा उनले त्यो बेला यसरी गुनगुनाएका थिए आफ्ना रचना । र, १३ वर्षपछि सोमबार बिहान सोही कला मन्दिरको आँगनबाट उनको अन्तिम यात्रा लाग्यो, देवघाटतर्फ । त्यसअघि  नन्दनको उही प्रिय गीत ‘यो गाउँको ठिटो म, कान्छा मेरो नाम’ गाइन् छोरी बेगम श्रेष्ठले । अन्य सहभागीले पनि बेगमसँगै गुनगुनाउँदै नन्दनलाई अन्तिम श्रद्धाञ्जली दिए । नन्दन अस्ताए तर ‘हक नदिनेलाई झटारो हान्ने’ चेतनाको राँको भने थमाएर गए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully