रहेनन् साहित्यकार प्रेम विनोद नन्दन

तनहुँमा जन्मिएका नन्दन नारायणगढमा बस्दै आएका थिए, उनको निधन भरतपुरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा भएको हो।

भाद्र २, २०८२

रमेशकुमार पौडेल

Writer Prem Vinod Nandan is no more

चितवन — साहित्यकार प्रेम विनोद नन्दनको निधन भएको छ । विसं १९९२ साल जेठमा तनहुँ बन्दीपुरमा जन्मेका नन्दन बसाइँ सरेर नारायणगढमा बस्दै आएका थिए ।

उनको आइतबार राति साढे नौ बजेतिर उपचारका क्रममा भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन निधन भएको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा साहित्यकार बालकृष्ण थपलियाले जानकारी गराए ।

२०१५ सालदेखि नै चितवनमा सक्रिय नन्दनको २०११ सालमै ‘झटारो’ गीत संग्रह निस्केको थियो । नन्दनले लेखेको रचना राष्ट्रिय गानको उत्कृष्ट १० भित्र पनि परेको थियो । नन्दन गीत, गजल र कविता लेखनमा सक्रिय रहेका थिए । 

भरतपुरमा एफएम रेडियो खुलेपछि उनलाई लिएर सिनर्जी एफएमले सञ्चालन गरेको गजल कार्यक्रम ‘अनुराग’मा चल्ने ‘गजलमा दोहरी’ले चितवन क्षेत्रमा गजलको माहोल बढाएको थियो ।

झटारोसहित चार गीत संग्रह, एक लघु काव्य र एक कविता संग्रह प्रकाशित गरेका नन्दनका गीतहरु नेपाली चलचित्रमा पनि समावेश छन् । नन्दनलाई राष्ट्रकवि माधव घिमिरे नेपाली साहित्यका ‘गोल सिमल’ भन्ने गर्दथे ।

चितवनको पुरानो सांस्कृतिक संस्था नारायणी कलामन्दिर र दर्जनौं साहित्यिक संघ संस्थामा नेतृत्व गरिसकेका नन्दन छिन्नलता गीत पुरस्कार, नारायणी प्रज्ञा पुरस्कार लगायतका पुरस्कार र सम्मानबाट सम्मानित श्रष्ठा हुन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully