लेखक सिलवालले भनेका छन्- ‘यो प्रकृति र प्रेमको यात्रा हो । संसारकै शिर सगरमाथाको यात्रा भए पनि यो भुइँतिरको यात्रा हो ।’
काठमाडौँ — लाङटाङ सद्भावना दूत अशोक सिलवालको पुस्तक ‘एभरेस्ट’ लाङटाङमा सार्वजनिक भएको छ । ‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’लाई स्थानीयहरुसहित गोसाइँकुण्ड गाउँपालिका–४ का अध्यक्ष डिन्डु जाङ्वाले लाङटाङ क्षेत्रको झन्डै ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जिङमा सार्वजनिक गरेका हुन् ।
‘यो प्रकृति र प्रेमको यात्रा हो । संसारकै शिर सगरमाथाको यात्रा भए पनि यो भुइँतिरको यात्रा हो,’ नेपाल गाइड सिलवालले भने, ‘यो यात्रा वृतान्त मात्र होइन, मनमा जेनिफर र भूगोलमा जुलीसँगको सगरमाथा संवाद हो । बीचबीचमा आउने भरिया भाइ, दाँत फुक्लेका बुढाजस्ता अनेक हिमालयवासी र संसारका अनेक देशबाट सगरमाथा आएका अनेक यात्रीका संवेदनाहरुको दस्तावेज पनि हो ।’
‘एभरेस्ट’ सिलवालको पाँचौं पुस्तक हो । सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’, यात्राका तितामिठा समेटिएको ‘श्रीलंका स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश किताब ‘अप्प दीपो भवः’ प्रकाशित छन् । पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।
