नारायणगढ सम्झेर खनालले लेखे 'स्मृतिका ज्वारभाटाहरू'

पूर्वजनप्रतिनिधि समेत रहेका बामदेव खनालले लेखेकाे पुस्तक 'स्मृतिका ज्वारभाटाहरू'काे शनिबार विमाेचन भएकाे छ ।

भाद्र ७, २०८२

रमेशकुमार पौडेल

Remembering Narayangadh, Khanal wrote 'Tides of Memory'

चितवन — नारायणगढका पुराना बासिन्दा तथा पूर्वजनप्रतिनिधि बामदेव खनालले लेखेकाे पुस्तक 'स्मृतिका ज्वारभाटाहरू'काे शनिबार विमाेचन भएकाे छ । चितवन साहित्य परिषद् (चिसाप) ले १६० आ‍ैं माेतीजयन्तीकाे अवसरमा आयाेजना गरेकाे कार्यक्रममा पुस्तक सार्वजनिक भएकाे हाे ।

खनाल १९९० सालमा नारायणगढका जमिनदार रहेका कालिदास खनालका कान्छा छाेरा हुन् । २०४९ सालकाे स्थानीय निर्वाचनमा वामदेव तत्कालीन भरतपुर नगरपालिका वडा नम्बर ४ का अध्यमा निर्वाचित भएका थिए । साविककाे वडा नम्बर ४ मा नारायणगढकाे अधिकांश क्षेत्र पर्छ ।

खनालले पुस्तकमा नारायणगढकाे पुरानाे अवस्था, जनप्रतिनिधि हुँदा खेलेकाे भूमिका, नारायणगढसँग जाेडिएका पुराना जनप्रतिनिधि तथा व्यक्तिका बारेमा लेखेका छन् । साथै उनले चितवनबाहिर घुमफिरमा जाँदा बटुलेका अनुभवलाई पनि पुस्तकमा समेटेका छन् । खनालकाे यसअघि नारायणगढकै पुराना घटनासमेत रहेकाे पुस्तक 'सिर्जना र शुभेच्छुकहरूकाे दृष्टिमा वामदेव खनाल' प्रकाशनमा आएको थियो ।

चिसापकाे उक्त कार्यक्रममा चिसाप राजकृष्ण मायादेवी पुरस्कार उपन्यास धीमहिका लागि लेखक जयराम तिमिल्सिना र चिसाप माधव खनाल साहित्य पुरस्कार सान्दाजु उपन्यासका लागि लेखक सुभास घिमिरेलाई प्रदान गरियाे । दुवै पुरस्कारकाे राशी ३५ हजार ४५ रूपैयाँ रहेकाे छ । पुरस्कार वितरण तथा पुस्तक विमाेचन कार्यक्रमका प्रमुख अतिथि चिसापका पूर्वअध्यक्ष श्रीभक्त अच्युत वाग्ले रहेका थिए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully