पत्रकार वसन्त पराजुलीले ल्याए उपन्यास ‘बखान’

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित विशेष समारोहमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, आख्यानकार अमर न्यौपाने, लेखक शंकर तिवारी, पत्रकार एवम् लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले पुस्तक लोकार्पण गरे ।

भाद्र ७, २०८२

कान्तिपुर संवाददाता

Journalist Vasant Parajuli brought the novel ”Bakhan”.

What you should know

काठमाडौँ — पत्रकार वसन्त पराजुलीको नयाँ कृति ‘बखान’ लोकार्पण गरिएको छ ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित विशेष समारोहमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, आख्यानकार अमर न्यौपाने, लेखक शंकर तिवारी, पत्रकार एवम् लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले पुस्तक लोकार्पण गरे ।  

कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले इतिहासमा सजिलै नपाइने घटना र विषयलाई लेखक पराजुलीले पुस्तकमार्फत प्रस्तुत गरिदिएको जनाए । बखानसिंह गुरुङको उच्च योगदानलाई पुस्तकले इतिहासमा सजीव बनाएको उनको भनाइ छ ।

चितवनको बस्ती विकास र बसाइँसराइमा महत्त्वपूर्ण योगदान पु¥याएका बखानसिंह गुरुङलाई पार्टीले औपचारिक सम्मान गर्नुपर्ने कांग्रेस सहमहामन्त्री जीवन परियारको भनाइ छ ।  

आख्यानकार अमर न्यौपानेले पुस्तकमाथि चर्चा गर्दै राजनीतिक परिवर्तनका क्रममा धेरै पुस्तकले छुटाएका घटनाक्रमलाई ‘बखान’ले समेट्न सफल भएको बताए । लेखकले २००७ सालको परिवर्तनदेखि पञ्चायतसम्मको राजनीतिक यात्रा, नेपाली कांग्रेसको संघर्ष, बिपी कोइरालाको समाजवादका चरण र गुरुङले आफ्ना दुई छोराको निधनपछि भोगेको पीडालाई सरल एवम् सटीक रुपमा प्रस्तुत गरेको न्यौपानेले जनाए ।  

पुस्तकका लेखक तथा पत्रकार वसन्त पराजुलीले बखानसिंह गुरुङको योगदानलाई साहित्यका माध्यमबाट आकार दिन खोजेको उल्लेख गरे । ‘अब यो पुस्तक तपाईंहरुको हातमा पुगेको छ,’ उनले भने, ‘यसको असल मूल्यांकन तपाईंहरुबाट आउने आशा गरेको छु ।’  

कार्यक्रममा बखानसिंह गुरुङकी पनातिनी जानुका गुरुङले आफ्ना बाजेलाई उच्च मूल्यांकन गर्नुपर्नेमा जोड दिइन् । 

के छ पुस्तकमा ? 
चितवनको बस्ती विकास, सहकारी अभियानको आरम्भ र नेपालको प्रजातान्त्रिक आन्दोलनसँग प्रत्यक्ष जोडिएका ऐतिहासिक पात्र हुन्— बखानसिंह गुरmङ । उनकै जीवनका अनेक आरोहअवरोह अर्थात् सैनिकदेखि मन्त्री हुँदासम्मका उबडखाबड यात्रा, पारिवारिक बिछोड र राजनीतिक टकराव समेटिएको आख्यान हो— बखान । 

पुस्तकमा बखानसिंहको बखान मात्र छैन, त्यति बेलाको भौगोलिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र सामाजिक पाटा पनि छन् ।

बखानसिंहलाई केन्द्रमा राखेर २००७ देखि २०४० सालसम्मका प्रमुख राजनीतिक घटनाक्रमलाई समेटिएको यस पुस्तकमा चितवनको बस्ती विकास, चितवन राष्ट्रिय निकुञ्जको स्थापना, त्यहाँ गरिएका सिकार, थारु जातिको जीवनशैली र मलेरियासँग जुधेर बाँचेका थारुहरुको जीवन्त चित्रण छ । इतिहास, संस्कृति, प्रकृति र पर्यावरणको सुन्दर प्रस्तुतिले यस आख्यानलाई बहुआयामिक बनाएको छ ।

कान्तिपुर

Link copied successfully