‘हिउँको गीत’ लाई सवा लाख रुपैयाँको कविडाँडा आख्यान पुरस्कार

जादुयी यथार्थको प्रयोगले गुरुङ समुदायको पहिचानलाई उजागर गरेको भन्दै कविडाँडा साहित्य समाजले उपन्यासलाई सम्मान गर्ने निर्णय गरेको छ।

भाद्र ६, २०८२

रमेशकुमार पौडेल

Kavidanda Akhyan Award of one and a half lakh rupees for 'Hiunko Geet'

चितवन — तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’लाई २०८१ सालको कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार प्राप्त भएको छ । यो पुरस्कारको राशि नगद एक लाख २५ हजार रुपैयाँ रहेको छ । चितवन भरतपुर महानगरपालिका–५ मा रहेको साहित्यिक संस्था कविडाँडा साहित्य समाजले वर्षभर प्रकाशितमध्ये उत्कृष्ट आख्यान अर्थात कथा, उपन्यासलाई २०७५ सालदेखि पुरस्कृत गर्दै आएको छ ।

तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’मा जादूई यथार्थको प्रयोग भएको, गुरुङ समुदायको ओझेल परेको पहिचानलाई सम्मोहक आख्यानशिल्पका साथ उजागर गरेको हुँदा पुरस्कृत गर्ने निचोडमा पुगेको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले बताए । समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कार दिने मिति र स्थान पछि सार्वजनिक गर्ने जानकारी गराएको छ ।

सुरुमा ३० हजार रुपैयाँको यो पुरस्कार २०७९ सालदेखि एक लाख २५ हजार रुपैयाँ राशिसहित दिन सुरु भएको हो । यो पुरस्कार हालसम्म महेश थापाको कथासंग्रह ‘मरीचिका’, श्याम शाहको कथासंग्रह ‘पथेर’, भुवन ढुंगानाको उपन्यास ‘परित्यक्ता’, लोकराज भट्टको उपन्यास ‘छाइ’ ले पाइसकेका छन् ।

सवा लाख रुपैयाँ भएपछि डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ र गत वर्ष कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ ले यो पुरस्कार पाएका थिए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully