कवि विश्व सिग्देलको कवितासंग्रह 'तालीको समाजशास्त्र'मा रहेका कविताहरूकै अनुवाद अंग्रेजी र जर्मन भाषामा आएको हो ।
What you should know
काठमाडौँ — कवि/कथाकार विश्व सिग्देलको कवितासंग्रह ‘पेल स्याडोज एट डस्क’ शनिबार काठमाडौंमा लोकार्पण गरियो । वर्तमान कविता समूहले आयोजना गरेको कार्यक्रममा बहुभाषिक कविता वाचन र काव्यात्मक संवादले माहोललाई साहित्य उत्सवमा बदलिदियो ।
लोकार्पणपछि नेपालीबाट अंग्रेजी र जर्मन भाषामा अनूदित किताब ‘पेल स्याडोज एट डस्क’ माथि कार्यक्रमका प्रमुख अतिथि डा. हेमराज काफ्ले र डा. बलराम अधिकारीले आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रममा कविहरू चन्द्रबहादुर लामा र रमी प्रियाले पनि सिग्देलका कविता र किताबमाथि आफ्नो बुझाइ-विचार व्यक्ति गरे ।
काफ्लेले कवि सिग्देलको संवेदनशील र भावुक लेखनशैलीको चर्चा गर्दै संग्रहले मानवीय भावना र अनुभवका सूक्ष्म तहलाई समेटेको टिप्पणी गरे । उनले संग्रहका कविताका सुन्दर बान्की पनि प्रस्तुत गर्दै सिग्देलका कविताले काव्य तत्वलाई सुन्दर ढंगबाट समेटेको बताए ।
अधिकारीले किताबको विषयगत गहिराइ, समकालीन कवितामा यसको महत्वबारे धारणा राखे । ‘नेपाली साहित्यको अनुवाद लेखक र अनुवादकको सहकार्यमा अघि बढाउनुपर्छ,’ उनले भने ।
विमोचन कार्यक्रमको विशेष आकर्षण थियो– अंग्रेजी र जर्मन दुवै भाषामा गरिएको कविता वाचन ।
कवि रजनी मिला, हरिश अधिकारी, भीष्म उप्रेती र अभय श्रेष्ठले विश्व सिग्देलका अंग्रेजी कविताको वाचन गरे भने निशान बेलबासे, साकृत सिग्देल, सेविका लिम्बू र प्रतीक्षा दाहालले सिग्देलका जर्मन भाषामा अनुवाद गरिएका कविता सुनाए ।
कवि सिग्देलले आफ्नो सिर्जनात्मक यात्राबारे बोले । भारत उत्तराखण्डको मसुरीमा पढाँउदा सन् २००८/९ ताका अंग्रेजीमा अनुवाद भएका कवितामध्ये छानिएका २५ कविता अंग्रेजी अनुवादक स्टर्मी हजारिका र त्यसको जर्मन अनुवादक स्भेन्यालाई कविले विशेष धन्यवाद दिए । ‘पेल स्याडोज एट डस्क आत्ममन्थन र बाहिरी संसारको अवलोकन हो,’ सिग्देलले भने ।
कार्यक्रममा कवि धीरकुमार श्रेष्ठले सिग्देलका कविताको उचाइ साहित्यमा बेग्लै भएको बताए ।
कवि सिग्देलको कवितासंग्रह 'तालीको समाजशास्त्र'मा रहेका कविताहरूकै अनुवाद अंग्रेजी र जर्मन भाषामा आएको हो ।
