लेखक कुमारी लामा, केशव दाहाल र कलाकार गौरी मल्लले संयुक्त रुपमा उमा सुवेदीको नयाँ किताब 'परिधि'को लोकार्पण गरेका हुन् ।
What you should know
काठमाडौँ — उपन्यास ‘तोदा’, कथा सङ्ग्रह ‘सयौं पुतली’ लगायत आधा दर्जन पुस्तककी लेखक उमा सुवेदीले लेखेको आख्यान कृति ‘परिधि’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ ।
लेखक कुमारी लामा, केशव दाहाल र कलाकार गौरी मल्लले संयुक्त रुपमा परिधिको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा बोल्दै लेखक कुमारी लामाले ‘परिधि’मा स्वैर कल्पनाको प्रचुरतासँगै यथार्थताको धरातललाई पनि सँगै लिएर गएको एक विशिष्ट आख्यान भएको बताइन् । उनले लेखकले मूलधारको एकथरिको लेखनभन्दा भिन्न शैली अपनाएर परिधिको आयामलाई फराकिलो पारेको टिप्पणी गरिन् ।
त्यस्तै, अर्का लेखक केशव दाहालले ‘परिधि’ संरचनाका हिसाबले नयाँ तर बेजोड कृति भएको बताए । उनले यस आख्यानमा बिम्बको प्रयोग सुन्दर तरिकाले गरिएको बताउँदै लेखकको निखारिएको शिल्पले पाठकलाई सुरुदेखि अन्त्यसम्मै बाँधेर राख्ने उल्लेख गरे।
कलाकार गौरी मल्लले ‘परिधि’ जस्तो नवीन र सशक्त शैलीको नेपाली आख्यान आफूले अहिलेसम्म नपढेको बताउँदै यस पुस्तकका पात्रहरुले आफूलाई पनि कहीँकतै प्रतिबिम्वित गरेको सुनाइन् । कार्यक्रममा कविता वाचन समेत गरेकी उनले यस आख्यानका पात्रले आफूभित्र उचित-अनुचित, असल-खराब, ठीक-बेठिक जस्ता कुराहरु बारेमा पूनः सोच्न बाध्य बनाएको बताइन् । ‘परिधि’ को अलौकिक संसारले सबै पाठकलाई सम्मोहित गर्ने उनको धारणा थियो ।
किताबकी लेखक सुवेदीले आफूले भन्न चाहेको कथाका लागि सामान्यभन्दा विशिष्ट शैली आवश्यक भएकाले आफूले कथा भन्ने शैलीमा प्रयोग गरेको बताइन् । सुवेदीका यसअघि तप्किएर अञ्जुलीमा (गजलसङ्ग्रह), तिर्सनाका छालहरु (गीतसङ्ग्रह), तोदा (उपन्यास), इति (उपन्यास) र सयौं पुतली (कथासङ्ग्रह) प्रकाशित छन् ।
सुवेदीको यो तेस्रो आख्यानलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।
