साहित्य सङ्गम मकवानपुरले श्रेष्ठको कृति ‘लहना र तीर’लाई २०८०–८१ सालमा प्रकाशित नेपाली कविता सङ्ग्रहमध्ये सर्वोत्कृष्ट ठहर्याई गत जेठ १० गते हेटौंमा कृति सम्मानको रकम प्रदान गरेको थियो ।
What you should know
भक्तपुर — कवि तथा कथाकार अभय श्रेष्ठले आफ्नो कविता कृति ‘लहना र तीर’ का लागि प्राप्त साहित्य सङ्गम मकवानपुर कृति सम्मानको रकम पातञ्जल योग समिति (पायोस) नेपाललाई प्रदान गरेका छन् ।
भक्तपुरको गुण्डुमा शनिबार आयोजित गुण्डु योग साधना केन्द्रको सातौं वार्षिकोत्सव कार्यक्रममा श्रेष्ठले सम्मान बापत प्राप्त २५ हजार रुपैयाँ पायोस नेपालका अध्यक्ष बालमुकुन्द सुवाल, वरिष्ठ उपाध्यक्ष नवराज काफ्ले लगायतको उपस्थितिमा कोषाध्यक्ष गीताप्रसाद नेपाललाई हस्तान्तरण गरे ।
साहित्य सङ्गम मकवानपुरले श्रेष्ठको कृति ‘लहना र तीर’लाई २०८०–८१ सालमा प्रकाशित नेपाली कविता सङ्ग्रहमध्ये सर्वोत्कृष्ट ठहर्याई गत जेठ १० गते हेटौंडामा यो सम्मान प्रदान गरेको थियो । ‘लहना र तीर’ बुकहिलले २०८० सालमा छापेको हो । साहित्य सङ्गम मकवानपुर कृति सम्मान हेटौंडाका कवि केशव श्रेष्ठ ‘ज्योति’ले स्थापना गरेका हुन् ।
श्रेष्ठले यो रकम पायोस नेपालको भवन निर्माणका लागि सहयोग स्वरूप प्रदान गरेको बताए । पायोस नेपालको भवन भक्तपुरको चाँगुनारायण नगरपालिका अन्तर्गत ताथलीमा निर्माणाधीन छ । श्रेष्ठ योग प्रशिक्षक र पायोस नेपाल केन्द्रीय समितिका सल्लाहकार हुन् ।
रोग लागेर आफ्ना मातापिता अल्पायुमै बितेको उल्लेख गर्दै श्रेष्ठले अकालमा कसैले जीवन गुमाउनु नपरोस् भन्ने कामनासहित यो रकम योग संस्थालाई प्रदान गरेको उल्लेख गरे । ‘योग अभ्यासले मान्छेलाई रोगै लाग्न नदिन भूमिका खेल्छ,’ उनले भने, ‘यसरी अकालमा कसैले ज्यान गुमाउनु पर्दैन । त्यसैले म आफैं योग अभ्यास, प्रशिक्षण र प्राकृतिक चिकित्साको स्वअध्ययनमा लागेको हुँ ।’
श्रेष्ठले यसअघि साझा प्रकाशनद्वारा स्थापित गरिमा गद्य सम्मान–२०६९ को राशि पनि आर्थिक रूपले धराशयी रहेको साझा प्रकाशनलाई नै फिर्ता गरेका थिए । गरिमा मासिकमा वर्षभरिमा प्रकाशित गद्यमध्ये श्रेष्ठको कथा ‘भुइँचालो’लाई उत्कृष्ट ठहर्याई गरिमा गद्य सम्मान–२०६९ प्रदान गरिएको थियो ।
पातञ्जल योग समिति नेपाल योग साधक बालमुकुन्द सुवालको पहलमा २०७५ सालमा स्थापना भएको हो । मौलिक पाठ्यक्रमसहित हाल यस संस्थाअन्तर्गत देशभरि साधना केन्द्रहरू खुलेका छन् ।
