पुस्तक ‘अपराजिता : जीवन बदल्ने छोरीहरु’ सार्वजनिक

पुस्तकमा म्याराथन धावक मिरा राई, आईटी इन्जिनियर श्रीती श्रेष्ठ, तेस्रो लिङ्गी अभियन्ता पिंकी गुरुङ, गायिका अभया सुब्बा र कान्छी शिक्षाकर्मी रित काफ्लेको जीवन कथालाई समेटिएको छ ।

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Book 'Aparajita: Life changing daughters' released

What you should know

काठमाडौँ — अनन्त वाग्लेको लेखन तथा सम्पादनमा ‘अपराजिता : जीवन बदल्ने छोरीहरु’ पुस्तक सार्वजनिक भएको छ ।

शनिबार बालवाङ्मय तथा अनुसन्धान केन्द्रको १० औं वार्षिक साधारण सभाको अवसरमा बबरमहलस्थित साफ पल्चामा गरिएको कार्यक्रममा केन्द्रका अध्यक्ष वाग्ले, महासचिव शान्ति सापकोटा, सभाध्याक्ष सिर्जना शर्मा, बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्य, बाल साहित्यका अग्रज सर्जकहरु प्रा.डा.चुडामणि बन्धु, के के कर्माचार्य, प्रमोद प्रधान लगायतकाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् । 

हिरोइन मुभमेन्ट कार्यक्रम अन्तर्गत बालवाङ्मय तथा अनुसन्धान केन्द्रले प्रकाशन गरेको यस पुस्तकमा जीवनमा संघर्ष गरेर सफलताको सिँढी चढेका पाँच जना छोरीहरुको सफलताको जीवन कथालाई समेटिएको छ । पुस्तकमा म्याराथन धावक मिरा राई, आईटी इन्जिनियर श्रीती श्रेष्ठ, तेस्रो लिङ्गी अभियन्ता पिंकी गुरुङ, गायिका अभया सुब्बा र कान्छी शिक्षाकर्मी रित काफ्लेको जीवन कथालाई संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ । 

लेखक वाग्लेले पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी सामग्री बन्न सक्ने बताउँदै पुस्तक प्रकाशनका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने नेदरल्याण्डकी अभियन्ता बेट्टे एन्ड्रियान्से, हिरोइन अभियान नेपाल, पुस्तकको चित्राङ्कन गर्ने चित्रकार कृषा ताम्राकार, बाल साहित्यका सम्पूर्ण अग्रज सर्जक तथा केन्द्रका सम्पूर्ण कार्यसमिति सदस्यहरुप्रति आभार व्यक्त गरे । उनले भने, ‘आफ्नो लक्ष्यमा पुग्न निरन्तर लगनशील रहेर कडा मेहनत गरी सफलता चुमेका पाँच नेपाली छोरीहरुका सफलताका कथा समेटिएको यो पुस्तक नयाँ पुस्ताका लागि एक प्रेरक स्रोत सामग्री हुनेछ ।’ 

नील हिरा समाजकी अध्यक्ष गुरुङ, गायिका सुब्बा, कान्छी शिक्षाकर्मी काफ्लेले पुस्तकले छोरीहरुको सफलतालाई अगाडि ल्याउने लेखक वाग्ले र केन्द्रलाई धन्यवाद ज्ञापन गर्दै खुसी व्यक्त गरे । गुरुङले रामराज्यको समयमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको रहेको चर्चा गर्दै कलियुगमा बल्ल समुदायले आफ्नो पहिचान स्थापित गर्ने अवसर पाएको बताइन् । वाग्ले जस्ता सर्जकले त्यसलाई अझै स्थापित गर्न सघाउ पुर्‍याएको सुनाइन् । त्यस्तै, गायिका सुब्बाले पितृसत्तात्मक व्यवस्थामा महिलाको उपस्थिति र कार्य सधैं छायामा रहेको अवस्थामा वाग्लले अत्यन्तै सराह्रनीय कार्य गरेको धारणा राखिन् । 

शनिबार नै केन्द्रले प्रमोद प्रधानको संयोजकत्वमा सिर्जना शर्मा र प्रा.डा.तारानिधि भट्टराई सहितको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरी नयाँ कार्यसमित चयन गरेको छ । 

वाग्लेकै अध्यक्षतामा चयन गरेको नयाँ कार्यसमितिमा उपाध्यक्षमा मन्जु ज्ञवाली, महासचिवमा शान्ति सापकोटा, सचिवमा सन्जोग ठकुरी र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा नेत्र तामाङ, रवीन्द्र मानन्धर, सुशीला तामाङ र हिक्मत दाहाल चयन भए । केन्द्रमा वाग्लेको यो दोस्रो कार्यकाल हो । 

कान्तिपुर

Link copied successfully