रामविक्रम थापालाई मनोज जोशी प्रतिभा पुरस्कार

२०४८ सालको कर्मचारी आन्दोलनमा योगदान पुर्‍याएका थापालाई शिक्षा, कला र समाजसेवामा योगदानका लागि पुरस्कृत गरिएको छ।

श्रावण १५, २०८२

डम्बरसिं राई

Manoj Joshi Talent Award to Ram Vikram Thapa

खोटाङ — सहिद मनोज जोशी प्रतिभा पुरस्कारबाट रामबिक्रम थापा पुरस्कृत भएका छन् । ३४ औं मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नगद दस हजारसहित साउन १५ गते पुरस्कृत गरिएको हो ।

शिक्षा, कला, साहित्य, सस्कृति र सामाजिक क्षेत्रमा योग्दान पुर्‍याएको भन्दै २०४८ सालको कर्मचारी आन्दोलनमा समेत सहभागी थापालाई पुरस्कृत गरिएको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताएका छन् । 

उक्त कर्मचारी आन्दोलनका क्रममा २०४८ साल साउन १५ गते प्रहरीको गोली लागेर सहिद मनोज जोशीले सहादत प्राप्त गरेको थिए । सरकारले २०७४ माघ २२ गते जोशीलाई सहिद घोषणा गरेको थियो । ‘शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउनु भएकाले उहाँलाई पुरस्कृत गरिएको हो,’ आचार्यले भने,‘उहाँ कर्मचारी आन्दोलनमा सहभागी पनि हुनुहुन्थ्यो ।’

सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा दिक्तेल बहुमुखी क्याम्पसमा फलफूलको विरुवा रोप्नुका साथै मनोजमार्गमा सरसफाइ तथा जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो ।

मनोज स्मृति प्रष्ठिान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती खोटाङको संयुक्त आयोजनामा भएको श्रद्धाञ्जलीसभामा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, पूर्वसांसद कुलप्रसाद फुयाल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पेसागत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, कर्मचारीलगायतको सभागिता थियो । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully