१० वर्षअघि स्थापना गरिएकै कोठामा इन्सास कर्नर पुनर्स्थापना गरिएको हो ।
What you should know
कास्की — इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) लामाचौरका विद्यार्थी अध्ययनसँगै साहित्यतिर पनि उत्तिकै सक्रिय छन् । यो क्याम्पसमा इन्जिनियरिङ साहित्यिक सञ्जाल (इन्सास) नामको एउटा संस्था छ जसले कहिले सांगीतिक, कहिले साहित्यिक साँझ गरिरहन्छ । प्राविधिक शिक्षाका विद्यार्थी इन्सासकै मञ्चबाट कहिले गीत गुनगुनाउँछन्, कहिले आफ्नै रचना सुनाउँछन् ।
प्राविधिक शिक्षा पढ्नेलाई साहित्यमा आकर्षित गर्न इन्सासकै पहलमा क्याम्पसमा ‘इन्सास कर्नर (इन्सास लाइब्रेरी)’ स्थापना गरिएको छ । ०७२ सालमा खुलेर बन्द भएको पुस्तकालय यही सातादेखि पुनर्स्थापना गरिएको निवर्तमान अध्यक्ष विजय अधिकारीले बताए । ‘पहिला दाइहरुले खोल्नुभएको कर्नरको किताब पनि हरायो, संरक्षण हुन नसकेर बन्द भयो,’ उनले भने, ‘अहिले फेरि क्याम्पससँग लाइब्रेरीकै त्यही पुरानो कोठा मागेर गत सोमबारदेखि पुनर्स्थापना गरेका छौं ।’
१० वर्षअघि स्थापना गरिएकै कोठामा इन्सास कर्नर पुनर्स्थापना गरिएको हो । इन्सासले पुस्तकालयका लागि एक जना संयोजक तोक्ने र क्याम्पसले पुस्तक लैजाने–ल्याउनेको अभिलेख राख्न सहयोग गर्ने गरी सहमति भएको उनले बताए । क्याम्पसले पुस्तकालय बनाइएको कोठा अरु प्रयोजनमा प्रयोग गर्ने भन्दै त्यहाँ रहेका पुस्तकको व्यवस्थापन गर्न इन्सासलाई भनेको थियो । विजयसहित इन्सासका पदाधिकारीले त्यसको व्यवस्थापनमा सहयोग भएमा पुनः सञ्चालन गर्ने बताएपछि क्याम्पस प्रशासन पनि सकारात्मक बन्यो । ‘पुरानै कोठा हो । त्यहाँ क्याम्पसले अरु सामान राखेको थियो । हामीले अब यो कर्नर फेरि सुरू गर्ने हो भनेर खाली गरिदिन भन्यौं,’ उनले सुनाए, ‘बन्द भएपनि बेलाबेला सरसफाइ भइराख्थ्यो ।’
हाल इन्सास कर्नरमा ५ सय हाराहारी पुस्तक उपलब्ध रहेको उनले बताए । इन्सासका पदाधिकारी, सल्लाहकार, संरक्षक र पोखरामा रहेका साहित्यकारबाट प्राप्त पुस्तक थप गरेर पुस्तकालय पुनर्स्थापना गरिएको हो । क्याम्पसको परिचयपत्र देखाएर पुस्तक प्राप्त गर्न सकिने र पढेबापत कुनै शुल्क नलाग्ने उनले सुनाए । कर्नरमै बसेर पढ्नेबाहेक ६ महिनासम्म (एक सेमष्टर) एउटा पुस्तक घर लैजाने व्यवस्था गरिएको उनले सुनाए । उनकाअनुसार ६ महिनाभित्र पुस्तक फिर्ता नगरेमा दैनिक १ रुपैयाँका दरले जरिवाना लाग्नेछ ।
इन्जिनियरिङ पढ्ने विद्यार्थीकै सक्रियतामा २०६८ सालमा इन्सास स्थापना भएको थियो । प्राविधिक शिक्षा पढ्नेलाई साहित्यतिर आकर्षित गर्न इन्सासकै पहलमा क्याम्पसमा ०७२ मा साहित्यिक पुस्तकालय (इन्सास कर्नर) खुल्यो । त्यतिबेला ३ सय जति पुस्तक कर्नरमा राखिएको थियो । इन्सासका सदस्य र नजिकका साथीभाइसँग उपलब्ध पुस्तक संकलन गरेर १० वर्षअघि इन्सास कर्नर (इन्सास लाइब्रेरी) स्थापना गरिएको पूर्वअध्यक्ष साधुराम लामिछानेले बताए । ‘क्याम्पसको लाइब्रेरीमा प्राविधिक पुस्तक थिए । साहित्यिक पुस्तक पनि राखौं भनेर हामीले क्याम्पसमा इन्सासलाई दर्ता गराएर, किताब संकलन गरेर लाइब्रेरी खोलेका थियौं,’ उनले सम्झिए ।
साधुरामसहित विद्यार्थीहरू विष्णु रिजाल, सन्दिप गौतमलगायत पढाइ सकेर क्याम्पसबाट बिदा भएपछि इन्सासको गतिविधि ठप्प प्रायः नै भयो । पुस्तकालयको संरक्षण गर्ने कोही भएन । कति किताब हराए । अनि ‘इन्सास कर्नर’को अस्तित्व पनि हराउन थाल्यो । ‘किताब थप्न आर्थिक स्रोत कम भयो । साहित्यप्रति रुचि राख्ने पुस्ताको कमी भयो,’ उनले थपे, ‘लाइब्रेरी सुस्तायो । अहिले फेरि केही गर्नुपर्छ भन्ने पुस्ता आउनुभएको छ ।’
क्याम्पसमा साहित्यिक गतिविधि र पुस्तकालय स्थापना गर्न तत्कालीन क्याम्पस प्रमुख नारायणप्रसाद गौतम, प्राध्यापकहरु हरिशरण अधिकारी र दिलीप जोशी, साहित्यमा सक्रिय गजल सन्ध्या, मुक्तक मञ्चजस्ता संस्थाले निकै सहयोग गरेको उनले स्मरण गरे । पुस्तकालय स्थापना गर्न नजिकका साथीभाइबाट कम्तीमा ५ वटा किताब संकलन गर्ने अभियान नै चलाएको उनले सुनाए ।
