संवाद–उद्घाटनमा कविद्वय तुलसी दिवस र रमेश क्षितिजले कविता लेखन, जीवनका उकाली–ओराली–घुम्ती–मोड र दर्शनमाथि गहन विमर्श गरे
What you should know
ललितपुर — ललितपुरको मोक्ष रेस्टुरेन्ट एन्ड बारमा शनिबार सांग्रिला लिटरेचर फेस्टिबलको पहिलो ‘सांग्रिला संवाद’ सम्पन्न भएको थियो । संवाद–उद्घाटनमा कविद्वय तुलसी दिवस र रमेश क्षितिजले कविता लेखन, जीवनका उकाली–ओराली–घुम्ती–मोड र दर्शनमाथि गहन विमर्श गरे ।
दिवसको पठन, लेखन र संस्कृतिमाथिको योगदानबारे क्षितिजले प्रकाश पारेका थिए । आफू हिँडेका दिनहरूतिर फर्किएर दिवसले कुनै पनि विषयलाई सापेक्षित हिसाबले हेर्नुपर्ने बताए । ‘जीवनमा आफूले देखेको वा बोध गरेको सत्य मात्रै लेख्नुपर्छ र त्यहि नै लेखकको इमानदारी हो,’ दिवसले भनेका थिए ।
दिवस र क्षितिजको संवादपछिको दोस्रो सत्र कविता–वाचनमा १२ कविले आफ्ना नयाँ–पुराना कविता सुनाएका थिए । कविहरू अविनाश श्रेष्ठ, शैलेन्द्र साकार, श्रवण मुकारुङ, दीपक सापकोटा, गीता त्रिपाठी, ज्योति जंगल, विमला तुम्खेवा, शकुन्तला जोशी, बिना थिङ तामाङ, अभय श्रेष्ठ, टंक उप्रेती र सविता गौतम दाहालले कविताको भव्य र सुन्दर काव्यिक माहोल सिर्जना गरे । प्रायः कविहरूले कवितामा आफ्ना प्रियजनका पोट्रेट र तिनका नोस्टाल्जिया लेखेका थिए ।
कवि दीपक सापकोटाको ‘फ्रेमबाट निस्किएकी हजुरआमा,’ श्रवण मुकारूङको ‘हुमानसिं भुजेलको भैंसी–प्रेम’, विमला तुम्खेवाको ‘सार्वजनिक बसमा एक दिन’, सविता गौतम दाहालको ‘बाँच्नेहरूले’, शकुन्तला जोशीको ‘बरको बोट’ कविताहरूले दर्शक–श्रोतालाई भावुक र मन्त्रमुग्ध बनाइरह्यो ।
कार्यक्रम समापनमा फेस्टिबलका अध्यक्ष आर्यक बरालले कार्यक्रम मासिक रुपमा नियमित हुने र त्यसमा साहित्यकारको हौसला आवश्यक रहने बताए ।
