कवि अकिञ्चनको ‘सायद किनाराहरू’ सार्वजनिक

श्रावण ३, २०८२

कान्तिपुर संवाददाता

Kavi Akinchan's ”Sayed Kinara” public

What you should know

काठमाडौँ — कवि उमेश अकिञ्चनको नयाँ कवितासंग्रह ‘सायद किनाराहरू’को शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । रक्षामन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षिजित, विमला तुम्खेवा, अभिनेता जीवन लुइँटेल र समीक्षक राजकुमार बानियाँले कवितासंग्रह विमोचन गरेका हुन् । 

वक्ताहरूले कवि उमेशका कविता नेपाली कविता–फाँटमा नौलो विम्ब, भाव र शैलीका साथमा उपस्थित रहेको बताए । ‘कवि अकिञ्चनका कवितामा काव्यिक अनुभूति सघन भएर आएको छ,’ श्रवण मुकारुङले भने, ‘कविता कुनै धारणाभित्र मात्रै सिमित रहँदैन, किनकि कविता आविष्कार हो । अकिञ्चनले कवितामा नौलो विम्बहरू, भाव र संसारको आविष्कार गरेका छन् ।’ 

मुकारुङले वर्तमान कविता मुक्त छन्दमा लेखिन थालेको पनि बताए । कविताको इतिहासलाई स्मरण गर्दै मुकारुङले भने, ‘अबको कविले आफ्नै विम्ब निर्माण गर्नुपर्छ र कविले कवितामा बौद्धिक कसरत पनि गर्नुपर्ने समय आएको छ, तब मात्रै कवि र पाठक दुवैको ज्ञानको दायरा पनि फराकिलो हुनसक्छ ।’

कवि विमला तुम्खेवाले तीन दशकदेखि कविता–कर्ममा तल्लीन कवि अकिञ्चनका कविताले समयको कुरुप पक्षमाथि प्रहार गरे पनि ती अत्यन्तै शालीन ढंगले लेखिएको र तिनले समयसँग संवाद गरेको सुनाइन् । ‘अकिञ्चनका कविता समयसँग गम्भीर संवादरत छन्,’ तुम्खेवाले भनिन्, ‘उनका कविताका विम्ब नयाँ, प्रयोगशील, प्रभावकारी, कोमल र शालीन छन् । कविले आफ्नो समयको विश्व परिवेश पनि कवितामा लेखेका छन् ।’ 

मन्त्री मानवीर राईले कविता र कविले समाज रूपान्तरणमा गम्भीर भूमिका खेल्ने बताए  । ‘कविहरू आफू मात्रै नभइ समाजलाई नै सचेत गराउँछु भनेर क्रान्तिकारी सोच लिएर हिँडेका हुन्छन्’, उनले भने, ‘देशलाई सही दिशामा ल्याउन कवि–साहित्यकारको इतिहासदेखि नै योगदान छ । कवि र कविताले समाजलाई नै दिशा प्रदान गर्न र सहयोग गर्छ ।’ राजनीतिमा नलागेको भए आफू लोकदोहोरी गायक बन्ने रहर भएको पनि राईले सुनाए ।

कार्यक्रममा अकिञ्चनको कवितासंग्रह ‘सायद किनाराहरू’ बाट कविहरू डा.स्मिता श्रेष्ठ र रिमा केसीले एक–एकवटा कविता पनि वाचन गरेका थिए । ‘सायद किनाराहरू’ मा रमेश क्षितिजले लेखेका छन्, ‘मन छुने विम्बहरूले भरिएका र शान्त भाषामा संवाद गर्ने उनका कविताले पाठकीय हृदयलाई असीम शीतलता प्रदान गर्छन्, आत्मिक शान्ति प्रवाह गर्छन् ।’ 

किताबमा राजकुमार बानियाँले अकिञ्चनसँगको मित्रता र उनका कवितालाई केन्द्रमा राखेर लामो भूमिका लेखेका छन् । ‘मेरा कवि मित्रले कविताको किनारामा थुप्रै नौला विम्ब र हँसिला बुट्टा हालेका छन् । ती बाहिरी बुट्टा र भित्री बुट्टाले कवितालाई ज्यान र जिन्दगी दिएका छन्,’ बानियाँले लेखेका छन् । 

‘सायद किनाराहरू’ अकिञ्चनको तेस्रो काव्यकृति हो । इन्डिगो इन्कले प्रकाशन गरेको किताबको मूल्य ५४९ रुपैयाँ रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully