काठमाडौँ — भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले साङ्ग्रिला बुक्सले नयाँ पुस्तक 'पोषण वर्णमाला : थरी-थरी रङ, थरी-थरी स्वाद' प्रकाशन गरेको छ ।
पुस्तकका संयोजक कृष्ण जीसी र पूर्णचन्द्र वस्ती छन् । पुस्तकले बालबालिकामा सानैदेखि स्थानीय, परम्परागत र पोसिला खानेकुराप्रति सकारात्मक धारणा विकास गर्न मद्दत गर्नेछ । साथै, यसले असल खानपानको बानी बसाल्न अभिभावक र शिक्षकहरूलाई सहयोग पुर्याउने विश्वास पनि व्यक्त गरिएको छ ।
पोषण वर्णमाला पुस्तकले नेपाली वर्णमाला सिकाउने नयाँ शैली प्रस्तुत गरेको छ । प्रत्येक अक्षरसँग नेपालका विभिन्न स्थान र जातजातिका पोसिला खानेकुराहरूको परिचय समेटिएको छ । उपलब्धता र अध्ययनका आधारमा यस पुस्तकमा १६० भन्दा बढी खानेकुराहरू समेटिएका छन् ।
पुस्तकलाई आकर्षक बनाउने उद्देश्यले अनामिका गौतमले चित्रहरू तयार गरेकी छन् र सम्पादन आन्विका गिरीले गरेकी हुन् ।
पुस्तकले घरमा अभिभावक र विद्यालयमा शिक्षकहरूलाई बालबालिकालाई पोसिला खानेकुरा र अक्षर चिनाउने सरल र प्रभावकारी माध्यम बन्नेछ भन्ने विश्वास साङ्ग्रिला बुक्सले राखेको छ ।
