काठमाडौँ — बालसाहित्यकार तथा अनुसन्धाता इन्द्र चौधरीको 'सुदूरपश्चिमका थारू संस्कृति र लोककथा' नामक अनुसन्धानात्मक पुस्तक लोकार्पण भएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीका अवसरमा पुस्तक सार्वजनिक गरिएको हो । धनगढीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का,सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीलगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।
कार्यक्रममा उपकुलपति जोशीले सुदूरपश्चिमको मुख्य जातिका रूपमा रहेका थारूहरूको लोकसंस्कृति र लोककथासम्बन्धि पुस्तक प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गरे । उनले भने, 'सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले सुदूरपश्चिमका विभिन्न जातजातिका कला, संस्कृति, भाषा, परम्परालाई संकलन, अध्ययन, अनुसन्धान गरी प्रकाशनमा लागेको छ । यसपटक थारू जातिका संस्कृति र लोककथासम्बन्धी पुस्तक प्रकाशन गरेका छौं । आगमी वर्ष अन्य जातजातिका संस्कृतिलाई समेटिएका पुस्तक प्रकाशन गर्ने तयारीमा छौं ।'
लेखक चौधरीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आफूलाई विश्वास गरी अध्ययनका लागि परियोजना कार्य दिएकामा खुसी व्यक्त गरे । 'प्रतिष्ठानले सुदूरपश्चिमका थारूहरूको संस्कृतिका बारेमा मलाई अध्ययन गर्ने अवसर दियो, यसका लागि प्रतिष्ठानका उपकुलपतिलगायत सिंगो प्रतिष्ठान परिवारलाई धन्यवाद दिन चाहन्छु,' उनले भने, 'आफ्नै प्रदेश सरकारसँगको सहकार्यमा यस्तो महत्त्वपूर्ण कार्य गर्न पाएकामा निकै खुशी लागेको छ ।'
चौधरीका अनुसार पुस्तकलाई तीन खण्डमा बाँडिएको छ । पहिलो खण्डमा थारू समुदायको परिचय, दोस्रोमा लोककथा र थारू लोककथाको संक्षिप्त इतिहास र तेस्रो खण्डमा थारू लोककथा रहेको छ । पुस्तकमा २० वटा लोककथा समावेश छन् । यो चौधरीको सातौं कृति हो ।
