मलाई मनपर्ने आख्यान ‘घामका पाइलाहरू’ : अभिनेता दिव्यदेव

असार २८, २०८२

कान्तिपुर संवाददाता

My Favorite Story 'Footsteps of the Sun' : Actor Divyadev

काठमाडौँ — अभिनेता दिव्यदेव फिल्म र नाटकहरूमा अभिनय क्षमताका कारण चर्चित छन् ।

फिल्म ‘चिसो एस्ट्रे’ममा उनको कामलाई थुप्रैले प्रशंसा गरेका थिए । उनले पछिल्लो समय काम गरेका फिल्म ‘एक्टर’ र ‘पिताम्बर’मा पनि उनको अभिनयलाई दर्शकहरूले रुचाएका थिए । उनै पन्तसँग इकान्तिपुरको नियमित स्तम्भ पाँच प्रश्नका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

तपाईँले पछिल्लो समय पढ्नुभएको पुस्तक ?

मैले पछिल्लो समय वसन्त चौधरीको उपन्यास ‘देवयानी’ पढेँ । मैले यो पुस्तकको अडियो बुकका लागि आवाज दिने मौका पाएको थिएँ । यो एउटा प्रेमकथा हो । यो पुस्तक मलाई मन पर्‍यो । सामान्य शैलीमा लेखिएको इमानदार प्रेम कथा हो । 

तपाईँलाई मन परेको फिक्सन ?

मन परेको फिक्सन एउटा दुई वटा मात्र भन्न गाह्रो पनि हुन्छ । धेरै छन् । नेपाली फिक्सनको कुरा गर्दा धच गोतामेको ‘घामका पाइला’ हुन् ।  यो पुस्तक मैले धेरैपछि पढ्न पाएँ । त्यसअघि नै मैले ध्रुवचन्द्र गौतमको ‘कट्टेल सरको चोटपटक’ पढेको थिएँ ।

‘घामका पाइला’ मलाई अनुप बराल सरले सिफारिस गर्नुभएको थियो । मैले अनुप सरलाई सोधेको थिएँ, ‘तपाईँले नेपाली फिक्सनमाथि फिल्म बनाउनुपर्‍यो भने कुन पुस्तक छान्नुहुन्छ ?’ उहाँले त्यो पुस्तकको नाम लिनुभएको थियो । यो पुस्तकमा तत्कालीन नेपाली समाजको चित्रण सुन्दर तरिकाले गरिएको थियो । तराई बेसको कथा, जहाँ रेलवे निर्माण हुने क्रममा एक जना बंगाली इन्जिनियर र उहाँकी छोरी त्यहाँ बस्नुहुन्छ ।

अर्को परिवार छ पवनको परिवार । दुई परिवारबीचको आर्थिक अवस्था धेरै तलमाथि भए पनि उनीहरू बीचको मित्रता प्रगाढ छ । एकदम सुन्दर अनुभूति हुने कथा लाग्यो । हाम्रोमा दुःख र खुसीको चित्रण एउटा तहमा मात्र गरिएको देखिन्छ ।

तर त्यो कथामा संघर्ष हुँदाहुँदै पनि मानवीयतालाई यसरी उनेको छ कि पढ्दा लामो समयसम्म प्रभाव पारिरहन्छ । कति मीठो समाज, कति मीठो हार्दिकता ।  त्यसकारण यो पुस्तक मलाई एकदमै मन पर्छ । 

तपाईँलाई मनपर्ने ननफिक्सन ?

ननफिक्सनमा पनि धेरै छन् । मलाई एकदम छोएको पुस्तक प्रतिमा बेदीको टाइम पास : द मेमोरिज्  अफ प्रतिमा बेदी’ । मैले धेरै इन्जोय गरेँ । उहाँले आफ्नो जीवन जसरी बिताउनुभयो । त्यसको चित्रण एकदम मजाको छ ।

मैले उहाँको पूर्वपति कबिर बेदीको पनि आत्मकथा पढेँ । तर प्रतिमाको लेखनले अझै धेरै तान्यो । नारीको कथा, जसले कन्जरभेटिभ सोसाइटीमा आफूले बाँचेको कथालाई इमानदारितापूर्वक चित्रण गर्नुभएको थियो । त्यसबाहेक अरू पुस्तक पनि छन् । 

तपाईँलाई एकदम प्रभाव पारेको फिक्सनल पात्र ?

फिक्सनल पात्र पुस्तकको भन्दा पनि चलचित्रको एउटा पात्र छन् । त्यो चलचित्र हेरेको पनि डेढ दशकजस्तो भइसक्यो ।

त्यसपछि पनि त्यो चलचित्रलाई दोहोर्‍याएर धेरै पटक हेरेको छु । २० पटक त हेरिसकेँ हुँला । पल थोमस एन्डरसनले निर्देशन गर्नुभएको ‘दे विल बि ब्लड’ ड्यानियल डे लुइसले निभाउनुभएको ड्यानियल प्लेनभ्यु पात्र यति लोभलाग्दो क्यारेक्टर छ कि, यस किसिमका पात्रहरू आफूले पनि निर्वाह गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

किन किन त्यसले छाप छाडेको छ म मा । कुनै दिन यस्तो किसिमको चरित्र लेखियो भने चाहिँ आहा भन्ने लाग्छ । त्यो क्यारेक्टरको गिल्टलाई मजाले चित्रण गरिएको छ । उहाँको मेथड एक्टिङका लागि जुन तयारी छ ती सबै कुराले पनि चरित्र जबरजस्त छ । 

नयाँ पुस्तालाई पुस्तक सिफारिस ?

धेरै छन् । म पुस्तक भन्दा पनि मनपर्ने लेखकका नाम लिँदा ठिक होला । किनकि उहाँहरूका धेरै पुस्तक पढ्न लायक छन् । यसले सबै पाठकलाई छाप छाड्छन् ।

मार्खेज मलाई असाध्यै मनपर्ने लेखक । उहाँले म्याजिक रियलिजममा लेख्नुहुन्छ । त्यो मलाई आफैँलाई पनि मन पर्छ । नेपालीमा लक्ष्मीप्रसाद देवकोटा हो जस्तो लाग्छ । उहाँको लेखनी हामीले गर्व गर्नुपर्ने खालको छ ।

पोएट्रिक लेखनले मलाई असाध्यै तान्छ । आख्यानमा पनि उहाँले कविता कोरेजस्तो लाग्छ । टोनी मोरिसन मलाई मनपर्ने अर्को लेखक हुन् । पोएट्रिक लेखन लाग्छ उहाँको । पछिल्लो समय विवेक ओझाको ‘ऐँठन’ पनि गहिराइमा लेखेको लेखन लाग्छ । सरस्वती प्रतीक्षाको ‘नथिया’ पनि राम्रो लागेको हो । धच गोतामे, ध्रुवचन्द्र गौतम छुटाउनै नमिल्ने नाम हुन् । 

कान्तिपुर

Link copied successfully