‘हिउँको गीत’ मा रैथाने ज्ञान र औपनिवेशिक प्रभावको चर्चा

असार २८, २०८२

दीपक परियार

A discussion of Raithane knowledge and colonial influence in 'Hiunko Geet'

पोखरा — साहित्यकार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ मा रैथाने ज्ञान प्रणालीको विघटनमा औपनिवेशिक शक्तिको भूमिका रहेको चर्चा गरिएको छ । पोखरामा शनिबार र्‍यान्डम रिडर्स सोसाइटीको ११८ औं नियमित कार्यक्रममा उपन्यासमा गुरुङ जातिको थलो क्व्होला राज्यको विकासदेखि विनाशसम्मको कथावस्तु समेटिएको चर्चा गरिएको हो ।

उपन्यासले प्राचीन समाजको सामाजिक द्वन्द्व र एउटा बस्तीको विघटनको कथालाई बेजोड रूपमा प्रस्तुत गरेको बताइएको छ । पुस्तक परिचर्चा गर्दै साहित्यकार त्रिवेणीले रैथाने ज्ञान पद्धतिमा आधारित रहेर कृतिको चर्चा गर्दै उपन्यासमा पात्रका माध्यमबाट पारिवारिक सम्बन्धको ज्ञान सामूहिक रूपमा बगिरहेको धारणा राखे । उनले हिउँको गीतमा स्थान विशेष वातावरणीय सम्बन्ध, ‘पेब्याक’ को परम्परा, मूल्य र मान्यताको परम्परा र जमिनको महत्त्वसम्बन्धी रैथाने विशेषता पाइने जिकिर गरे ।

‘उपन्यासले प्राचीन समाजको सामाजिक द्वन्द्वलाई बेजोड रूपमा पस्किएको छ र एउटा बस्तीको विघटनमा त्यसको भूमिकालाई दर्साएको छ,’ उनले भने, ‘यो नै उपन्यासको मूल कथानक हो जुन अति सुन्दर तरिकाले स्थापित छ ।’

उपन्यासले रैथाने ज्ञान प्रणलीलाई आफूमा समाहित गरेको र उक्त प्रणालीको विघटनमा औपनिवेशिक शक्तिको हातलाई पनि छर्लंग बनाएकाले उपन्यास अब्बल सावित भएको त्रिवेणीको भनाइ छ ।

कार्यक्रममा उपन्यासकार तीर्थ गुरुङले आफूले उपन्यास आफ्नै व्यक्तिगत जिन्दगीसँग जोडेर लेख्न सुरु गरेको अनुभव सुनाए । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनले आफ्नै पिताको मिर्गौला प्रत्यारोपण गरेपछि प्राप्त भएको पुनर्जीवनलाई प्रतीकात्मक रूपमा अभिव्यक्त गर्ने माध्यमका रूपमा लेखन अघि बढाएको प्रसंग भावुक हुँदै सुनाए ।

यसअघि पाठशाला (उपन्यास) र आपा क्हार्प (कथा संग्रह) बजारमा ल्याइसकेका उनले आफ्नै मातृभूमि, मातृभाषा र मातृसंस्कृतिलाई ‘पेब्याक’ होस् भन्ने हेतुले पनि उपन्यास लेखेको बताए । हालसम्म पाठकको मायाबाट हौसला मिलेको बताउँदै उनले आगामी संस्करणमा पाठकको सुझावलाई ध्यानमा राखेर परिमार्जन पनि गर्ने प्रतिबद्धता जनाए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully