नेपाल-चीन सम्बन्ध बुझाउने किताब ‘सुमधुर सम्बन्धका ७० साल’

असार २४, २०८२

कान्तिपुर संवाददाता

A book on Nepal-China relations ”70 years of harmonious relations”

काठमाडौँ — नेपाल र जनवादी गणतन्त्र चीनको सम्बन्धलाई चिनाउने पुस्तक प्रकाशित भएको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा ’सुमधुर सम्बन्धका ७० साल’ नामक ग्रन्थ सार्वजनिक भएको हो । 

राजा महेन्द्रदेखि टंकप्रसाद आचार्य (चीन भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री) सम्मको चीन भ्रमणबारे पुस्तकमा चर्चा छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका सन्दर्भ पनि उल्लेख गरिएको छ ।

कूटनीतिक सम्बन्ध स्थापनाको प्रारम्भिककालदेखि पछिल्लो समयसम्म भएका मुख्य–मुख्य घटनाक्रम पुस्तकमा समेटिएका छन् । दुई देशबीच दौत्य सम्बन्ध कायम गर्नका लागि दुवै देशका प्रतिनिधिबीच भएका वार्ता, नेपाल राष्ट्र बैंकको स्थापनामा चीनले पुर्‍याएको सहयोग, भ्रमण आदानप्रदानका विषयले किताबमा महत्व पाएको छ । नेपाललाई चीनले दिएका सहयोगका विविध पक्षलाई दुर्लभ तस्बिर र तथ्यांकसहित सूचीबद्ध गरिएको छ ।

नेपाल र चीनबिच १ अगस्ट सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । आगामी साउन १७ गते कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुरा हुँदै छ ।

पुस्तकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना व्यक्त गरेका छन् । पुस्तकमार्फत विगत सात दशकको नेपाल–चीनबीचको गहिरो मित्रता र विश्वासको सशक्त अभिव्यक्ति गरेको चर्चा गरेका छन् । 

प्राचीन कालका राजकुमारी भृकुटी र कलाकार अरनिकोले सुरु गरेको मित्रताको यात्राले आजको आधुनिक युगमा नयाँ उचाइ हासिल गरेको उनले स्मरण गरेका छन् । औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएपछि नेपाल र चीनबिच आपसी विश्वास, सहयोग र समझदारीको आधारमा राजनीतिक, आर्थिक, सामाजिक तथा विकास साझेदारी विस्तार हुँदै आएको घिमिरेले स्मरण गरेका छन् । 

नेपालका लागि चीनका राजदूत चेन सोङले ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक प्रकाशन हुन लागेकामा शुभकामना सन्देश दिएका छन् । यस पुस्तकले दुई देशको कूटनीतिक सम्बन्धमा प्रमुख कोसेढुङ्गाको साक्षी मात्र नभई आर्थिक सहयोग, सांस्कृतिक आदानप्रदान, धार्मिक, शैक्षिक अन्तरक्रिया लगायतलाई जीवन्त रूपमा समेटेको उनले उल्लेख गरेका छन् । 

हिमालयले जोडिएका दुई मैत्रीपूर्ण छिमेकी चीन र नेपालले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक सम्मान, समानता र जित–जित सहयोगका सिद्धान्तहरूलाई कायम राख्नुको साथै सीमा र समय पार गर्ने स्थायी मित्रताको उल्लेखनीय महाकाव्य रचना गरेको सन्देशमार्फत भनेका छन् । सोङले दुई देशबिचको राष्ट्रिय रणनीतिको तालमेल अन्तर्गत दायरा बढाउन तत्पर रहेको समेत उल्लेख गरेका छन् । 

पुस्तक प्रकाशन गर्नुको औचित्यबारे प्रस्ट पार्दै नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल–चीनबीचको दौत्य सम्बन्धका मिठा क्षणहरूलाई समेट्ने प्रयास गरिएको लेखेका छन् । ‘जबजब भूगोलको प्रसंग आउँछ, त्यहाँ छिमेकी साइनोको कुरा जोडिन्छ र स्वतः खोजिन्छ– सहयोग, समन्वय, सद्भाव, सदाचार र सदाशयता । यस पुस्तकमार्फत नेपाल–चीन सम्बन्धका विविध आयाम अनि ७० वर्षका मिठा क्षणलाई स्मरण गर्न गइरहेका छौं,’ पुस्तकबारे श्रेष्ठले भनेका छन् ।  

नेपाली र चिनियाँ दुवै भाषामा प्रकाशित यस पुस्तकमा दुई देशबीच बहुआयमिक मितेरी सम्बन्धबारे चर्चा गरिएको छ । १२ वटा विषयसूची समावेश रहेको पुस्तकमा दुई देशबीचको सम्बन्धमा अध्यक्ष श्रेष्ठको अनुभूति, कूटनीतिक सम्बन्ध स्थापनाको ऐतिहासिक क्षण, नेपाल राष्ट्र बैंक स्थापनामा चीनको सहयोग, नेपाल–चीनबीच विगतदेखि वर्तमानसम्म, दुई देशबीच बहुआयमिक साइनो र सम्बन्ध, बदलिएको भाषा, सांस्कृतिक सम्बन्ध, शीतयुद्धकालीन सम्बन्धका शृंखला, नेपालमा राजतन्त्र ढलेपछिको सम्बन्धको निरन्तरता, नेपाल-चीन आधुनिक आर्थिक सम्बन्ध र  सी जिनपिङ युग र दुई देशबिच सम्बन्धको प्रगाढताबारे गहिरोसाग चर्चा गरिएको छ ।

नेपाल र चीनबीच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको आगामी अगष्ट १ (साउन १६) का दिन विशेष समारोहबीच पुस्तक सार्वजनिक गर्ने तयारी छ । पुस्तक नेपाल–चाइना मिडिया फोरमले प्रकाशन गरेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully