मैनालीको ‘सुनेको शासन : भोगेको प्रशासन’ लोकार्पण

असार २२, २०८२

कान्तिपुर संवाददाता

Launch of Mainali's 'Hearing Government: Suffering Administration'

काठमाडौँ — लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं पूर्वसचिव उमेशप्रसाद मैनालीको प्रशासनिक संस्मरण ‘सुनेको शासन : भोगेको प्रशासन’लोकार्पण भएको छ । राजधानीमा आयोजित एक समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तक लोकार्पण गरेका हुन् ।

नेपालको प्रशानिक क्षेत्रको लामो कालखण्डका सम्बन्धमा मैनालीले पुस्तक लेखेको प्रधानन्यायाधीश राउतको भनाइ थियो । 'नेपालको प्रशासनिक क्षेत्रको यतिलामो कालखण्ड समेटेर तथ्यपरक रुपमा पुस्तक लेख्नु आफैंमा चुनौती हो,' उनले भने, 'यो पुस्तक नेपालको प्रशासनको साँचो संस्मरणात्मक इतिहास हो ।'

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले २००७ यताका शासन र प्रशासनका मुख्य घटना, आरोह अवरोह, विभिन्न काण्ड मैनालीको पुस्तकमा समेटिएको बताए । ती घटनाक्रमका असर र पारत्रहरूका भूमिका पनि पुस्तकमा समेटिएको उनको भनाइ थियो । 

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार हरिबहादुर थापाले भने, 'प्रशासनिक क्षेत्रमा यसरी पुस्तक लेखिएका छैनन् । यो पुस्तकले प्रशासनिक क्षेत्र भित्रका कमजोरीलाई उजागर गर्दै सबल र उन्नतशील समाज निर्माणका लागि प्रेरणा दिएको छ । चाकडी, चाप्लुसी र चियोचर्चो छाडेर आफ्नो कर्तव्य निर्वाह गरी सुशासन कायम गर्नुपर्ने ऐतिहासिक तथ्यात्मक विषयवस्तुहरु भएकाले निजामती प्रशासन क्षेत्रका व्यक्तिका लागि यो पुस्तक लाभदायी छ ।' मैनालीको पुस्तक सरल र रोमाञ्चक भाषाशैलीमा लेखिएकाले पढ्दा पाठकलाई फिक्सनको अनुभूति हुने थापाको भनाइ थियो ।  

प्रजातन्त्रको स्थापनादेखि गणतान्त्रिक नेपालको संविधानसम्मका प्रशासनिक घटना समेटिएको पुस्तकमा आधुनिक प्रशासनको जग बसाल्ने २००७ को प्रशासनिक पुनर्गठन, अन्तरिमकालको प्रशासनिक अस्थिरता, पहिलो निर्वाचित सरकारको प्रशासन सुधार, पञ्चायतकालीन प्रशासनिक राज्य र २०४६ सालयताको राजनीतिक प्रशासनबारे चर्चा गरिएको छ ।

मैनालीको ‘सुनेको शासन : भोगेको प्रशासन’ पुस्तक बुकहिलले प्रकाशन गरेको हो ।  

कान्तिपुर संवाददाता

Link copied successfully