काठमाडौँ — कवि तथा गीतकार युवराज अधिकारीको कवितासंग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ सार्वजनिक गरिएको छ ।
काठमाडौंमा शनिबार आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, एपेक नेपालका अध्यक्ष विश्व विमोहन श्रेष्ठ, कवि तुलसी दिवस, सांसद अमरेशकुमार सिंह, चलचित्र निर्देशक एवं लेखक प्रकाश सायमीलगायतले पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा कलाकार तथा क्याप्टेन विजय लामाले कवि अधिकारीको कवितासंग्रह ‘युद्ध, युद्ध नै हुन्छ’को शीर्ष कविता वाचन गरेका थिए । उनैको आवाजमा स्वरांकन गरिएका अधिकारीका कवितासमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
विचोचित कविता कृतिमाथि टिप्पणी गर्दै प्रमुख अतिथि एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले कवि युवराज अधिकारीको शीर्ष कविताले ‘समकालीन विश्वको समसामयिक आवाज बोकेको र युद्ध कुनै पनि हिसाबले स्विकार्न नसकिने’ टिप्पणी गरे ।
कार्यक्रममा अभिनेता निखिल उप्रतीले पनि कवि अधिकारीको ‘जिन्दगी यस्तै त हो कान्छा’ शीर्षकको कवितावाचन गरेका थिए । कवि अधिकारीको समग्र कविता यात्रामाथि चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमीले प्रकाश पारेका थिए ।
कवि अधिकारी स्वयंले आफ्नै कवितामाथि टिप्पणी गर्दै ‘कविताले आफ्नो माटोको सुगन्ध बोक्न सक्नुपर्ने’ बताए । अधिकारीले आफ्ना केही कवितासमेत वाचन गरेका थिए ।
सांसद अमरेशकुमार सिंह, महेश बस्नेतलगायतको उपस्थिति रहेको कार्यक्रमको मुख्य आकर्षणका रुपमा कलाकार वीरेन्द्र हमालद्वारा निर्देशित कवि अधिकारीको कविता ‘जिन्दावाद र मुर्दावादको सहरमा कोही आउनेछ’ को मञ्चन थियो ।
कवि अधिकारीको कवितासंग्रह ‘युद्ध, युद्ध नै हुन्छ’लाई इन्डिगो इन्क प्रालिले प्रकाशन तथा बजार व्यवस्थापन गरेको हो ।
