जोशीको कथा संग्रह ‘सपनाको देश’ सार्वजनिक 

असार ७, २०८२

रमेशकुमार पौडेल

Joshi's story collection 'Sapnako Desh' released

चितवन — सरला जोशीको कथा संग्रह ‘सपनाको देश’ शनिबार सार्वजनिक भएको छ ।

चितवन साहित्य परिषद्को नारायणगढमा रहेको सभा हलमा साहित्यकार सरस्वती रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कथा संग्रह विमोचन गरिएको हो । नारायणगढ निवासी जोशीका यसअघि उपन्यास, गजल र कविता संग्रह गरी तीन कृति सार्वजनिक भइसकेका छन् । ‘सपनाको देश’मा १५ वटा कथा छन् । 

संग्रहका कथाहरूमा महिलाका विभिन्न भूमिकाहरूलाई समेटिएको समीक्षक सामना पहाडको टिप्पणी थियो । ‘१५ कथामध्ये प्राय सबै कथामा महिला पात्रको विभिन्न चरित्रहरूलाई उभ्याइएको छ । सात आठ वटा कथामा मात्रै पुरुष पात्रहरू अलि बलियो रूपमा देखिन्छन् । महिलालाई सक्षम, योग्य र संघर्षशील पात्रका रूपमा प्रस्तुत गरिएको छ,’ समीक्षक सामनाको भनाइ थियो । कथामा महिलाको शालीन संघर्ष पढ्न पाइने उनले बताइन् ।

अर्का समीक्षक उदय अधिकारीले कथाको भाषा सरल भएको, नारायणगढ क्षेत्रकै पात्र र विषयहरूलाई टिपेको  र सीमान्त वर्गका आवाजहरूलाई समेट्न खोजेको भनाइ राखेका थिए । ‘कथाहरू राम्रा छन् । तर पात्रको चरित्रलाई अगाडी बढाउनेभन्दा पनि कतै कतै लेखकले आफ्नो विचार राख्न खोजको पाइन्छ । व्याख्यात्मक बनाएको र अलि बढी नै फिल्मी पो भयो कि भन्ने छनक पनि आउँछ,’ अधिकारीले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully