काठमाडौँ — प्रकाश पन्थीकाे उपन्यास ‘महबी मिका’ लोकार्पणसँगै विमर्श भएको छ । आइतबार काठमाडौंमा भएको कार्यक्रममा लेखक/समीक्षकद्वय राजकुमार बानियाँ र गुरुङ सुशान्त, पत्रकार दीपक सापकोटा र डा. दधिराम पन्थीले पुस्तकमाथि चर्चा गरेका थिए ।
बानियाँले उपन्यास प्रयाेगधर्मी भए पनि भाषा र अब्बल लेखाइले पठनयाेग्य रहेकाे बताए । ‘परम्परागत कथा वाचनलाई अस्विकार गर्दै नयाँ शैलीमा उपन्यास आएको उनको भनाइ थियो ।
सुशान्तले महबी मिकाकाे भाषा अत्यन्तै बलियाे भएकाे बताए । काैतुहल जगाउने खालकाे लेखनशैलेकाे उनले खुलेर प्रशंसा गरे । 'पुस्तक पढ्दै जाँदा काव्यिक भाषाले तान्छ । कतिखेर कवितामा कतिखेर अध्यात्मप्रति झुकाव भएजस्तो लाग्छ,' उनले भने ।
पत्रकार सापकोटाले उपन्यासले परम्परागत लेखनभन्दा भिन्न स्वाद दिएको भनाइ राखे । उनले भने, 'औपन्यासिक डिजाइन पृथक् छ । टाढैबाट सुन्दर देखिने गुलमोहर जस्तो !'
लेक्चरर पन्थीले डायस्पाेरा साहित्यलाई मात्रै नभएर नेपाली साहित्यमा खाेजिने उपन्यासका रुपमा महबी मिका आएकाे बताए । उनले भने, ‘सामाजिक विकार र विसंगतिमाथि उपन्यासमार्फत लेखकले व्यंग्य गरेका छन् ।
हाल अस्ट्रेलिया बस्दै आएका लेखक पन्तले दुई सातामा उपन्यास लेखिसकेको अनुभव सुनाए । उपन्यास इन्डिगाे इन्कले प्रकाशन गरेकाे हाे ।
