काठमाडौँ — प्राचीन ऐतिहासिक ग्रन्थका रूपमा परिचित महाकाव्य महाभारतको नेपाली अनुवाद बजारमा आएको छ ।
बागबजारमा आयोजित कार्यक्रममा आख्यानकार भुवनहरि सिग्देल, समीक्षक राजकुमार बानियाँ, विश्लेषक शंकर तिवारी, आख्यानकार शैलेन्द्र अधिकारी, कवि हेम प्रभास लगायतले पुस्तक सार्वजनिक गरे ।
हिन्दुहरूको एक प्रमुख ग्रन्थ मानिए पनि महाभारत विश्वभर नै चर्चित छ । यो ग्रन्थ महर्षि वेदव्यास आफूले बोलेर भगवान् श्रीगणेशबाट लेखाएका हुन् र महाभारत–कथाभित्रका एक पात्र उनै व्यास पनि रहेका छन् । एक लाख श्लोकमा रहेको यस ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरेर गद्यशैलीमा बजारमा ल्याइएको हो ।
चार भागमा प्रकाशित यो ग्रन्थको अनुवाद रोशन दाहालले गरेका हुन् । कथात्मक शैलीमा अनुवाद भएको हुनाले महाभारत अध्ययन गर्न चाहने तर श्लोकको अर्थ नुबझ्ने पाठकका लागिसमेत यो ग्रन्थ पठनीय रहेको शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले बताए ।
