पोखरा — बीचबाट सेती गण्डकी बग्ने सहर पोखरामा शनिबार कर्णालीका छाल सुनिए- रमेश भुसालको कृति 'छालबाटो' परिर्चामा ।
पत्रकार तथा लेखक भुसालको किताब ‘छालबाटो’ माथि परिचर्चाको मेसो र्यान्डम रिडर्स सोसाइटीले मिलाएको हो ।
कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतको सीमासम्मको ४५ दिने साहसिक यात्राका अनुभूतिलाई ‘छालबाटो’मा समेटिएको छ । परिचर्चा कार्यक्रममा लेखक भुसालले जब बोले, उनका शब्दहरू पनि नदीझैँ बगेका थिए । उनी भने, 'हामी नदीसँग जिउँछौँ, तर त्यसप्रति हाम्रो व्यवहारमा माया छैन । म चाहन्छु, यो पुस्तक पढेपछि हामी एकपटक नदी, पहाड, चराहरूको नजरबाट आफूलाई हेरौँ ।' उनका दृष्टिकोणहरूमा प्रकृति र मानिसको सम्बन्धको अन्तर्य थियो ।
'हामी पहाड काट्न पैसा फेला पार्छौँ तर त्यही पहाड जोड्न सक्दैनौँ । यो विकासको नाममा भएको आत्मघाती सोच हो,' उनले थपे । छालबाटोमा उनले हिमाल र नदीबीचको नातालाई केवल भौगोलिक हैन, भावनात्मक धरातलमा चित्रण गरिएको बताए ।
कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र मानसिक दुवै यात्राको स्वाद पुस्तकबाट पाउने धारणा राखे । लेखकले कर्णालीको मुहान, तिब्बतको विकासका प्राथमिकता, सीमा नाका सुरक्षा र तटीय बस्तीको समाजशास्त्रीय अवलोकन गरेर कृति लेखेको उनले बताए ।
छालबाटोमा वर्णन मात्रै नभएर लेखकका अनुभूतिहरू पनि प्रशस्तै आएका बताउँदै उनले कृतिमा मूल कर्णालीलाई निर्बाध बग्न दिनुपर्छ भन्ने कुराको उल्लेख भएको बताए । किताब पढ्दा हाँसो र सहानुभूति एकसाथ उत्पन्न हुने आफ्नो पठन अनुभूति सुनाउँदै शेरचनले हाँसो र सहानुभूति भाव एकसाथ उत्पन्न गराउन सक्नु लेखकको शक्ति भएको बताए । पुस्तकमा आएका तथ्यहरूका कारण छालबाटो यात्रावृत्तान्तमा सीमित नभई नदी प्रणालीको समाजशास्त्रीय र प्राकृतिक विज्ञानको लिखत बनेको उनको धारणा छ ।
शेरचनको आँखामा जलआश्रित आदिवासी महिलाहरूको जर्जर अवस्था, तिब्बतको तीव्र विकास र नेपाली सीमावर्ती बस्तीको बिनासंरचना विस्तार 'छालबाटो' मा बगेका कथाहरू हुन् । उनका शब्दमा 'छालबाटो' केवल यात्रावृत्तान्त होइन, यो समाजशास्त्रीय चेतनाको खोलो हो । उनले यो पनि स्मरण गरे, 'कर्णाली नदी सधैँ बगिरहोस् भनेर कृतिमा आग्रह गरिएको छ । त्यो आग्रह आजको विकास अवधारणामाथि एक मौन विद्रोह हो ।'
साहित्यकार सरुभक्तले छालबाटोलाई अनुभूतिको दस्तावेज माने । 'कुनै कृति केवल सम्झनाको प्रतिविम्ब होइन, त्यसमा पाठकलाई लेखकसँगै यात्रा गराउन सक्नुपर्छ,' उनले भने, 'छालबाटोमा त्यो क्षमता छ ।'
कृति गैरआख्यान भनिए पनि आख्यानको गुणले र विषय गहिरो हुँदा ढाँचा गौण हुने उनको भनाइ थियो । 'लेखनमा कुनै बनावटीपन छैन । उनी नदीसँग कुरा गर्छन्, बस्तीमा रम्छन् र सीमामा उभिएर प्रश्न गर्छन्,' सरूभक्तले भने, 'म चाहन्छु, यो किताबले एकपटक भए पनि हामीलाई प्रकृति र हाम्रो सम्बन्धबारे सोच्न बाध्य बनाओस् ।'
र्यान्डम रिडर्स सोसाइटीका सहसचिव दीपक पराजुली र पुस्तक छनोट समिति सदस्य हसिना बस्नेतले कृतिमाथि आफ्ना समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरे ।
