१३ नेपाली कृति चिनियाँ भाषामा अनुवाद हुने

चिनियाँ १३ पुस्तक पनि नेपाली भाषामा अनुवाद गरी प्रकाशनका लागि छनोट भएका छन्

जेष्ठ २७, २०८२

रासस

13 Nepali works to be translated into Chinese

काठमाडौँ — नेपाली साहित्यका १३ कृति चिनियाँ भाषामा अनुवाद गरी चीनमा बिक्री वितरणका लागि छनोट गरिएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जनवादी गणतन्त्र चीनको नेसनल एडमिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसनबीच सहमति भएको हो ।

दुई देशका शास्त्रीय ग्रन्थ अनुवाद एवं प्रकाशनसम्बन्धी भएको द्विपक्षीय समझदारीपत्रअनुरूप नेपाली साहित्यका १३ कृति छनोट भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको २०८० सालमा भएको भ्रमणका क्रममा नेपालको संस्कृति मन्त्रालय र चीनको पब्लिकेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’, भीष्म उप्रेतीको ‘हिमाल, शेर्पा र यति’, बाबुराम आचार्यको ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’, डा हर्क गुरुङको ‘मैले देखेको नेपाल’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, डा राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’, सरुभक्तको ‘चुली’, सुलोचना मानन्धरको ‘जीवनबाट जीवन सिकौं’, सत्यमोहन जोशीको ‘कलाकार अरनिको’, मन्जुलको ‘जाने होइन दाइ आलापोट ?’, जनकलाल शर्माको ‘हाम्रो समाज एक अध्ययन’ र डोरबहादुर विष्टको ‘सबै जातको फूलबारी’ छनोटमा परेका छन् ।

चिनियाँ १३ कृति नेपालीमा अनुवाद हुने

यसैगरी, चिनियाँ १३ वटा पुस्तक पनि नेपाली भाषामा अनुवाद गरी प्रकाशनका लागि छनोट भएको छ । ‘सी चिनफिङ थट अन सोसलिजम विथ चाइनिज क्यारेक्टरिस्टिक्स फर अ न्यु एरा’, ‘सेभेन्टी इयर्स अफ न्यु चाइना’, ‘द ओरिजिन्स अफ चाइनिज सिभिलाइजेसन’, ‘द एनोटेटेड क्रिटिकल लाओजी’, ‘सेलेक्टेड स्टोरिज अफ जिया दसान’, ‘ह्वाई एन्ड हाउ द सीपीसी वर्क्स इन चाइना’, ‘ह्वाइट डिअर प्लेन’, ‘रेड सर्गम’, ‘ट्रान्सलेसन एन्ड एनोटेसन अफ द बुक यक चुआङ्जी’, ‘द स्ट्र हाउस’, ‘द म्याजिक गर्ड’, ‘इस्टर्न एन्ड वेस्टर्न कल्चर्स एन्ड फिलोसफिज’ र ‘अ ब्रिफ हिस्ट्री अफ एन्सिएन्ट चाइनिज आर्किटेक्चर’ छनोट भएको प्रतिष्ठानले जनाएको छ । 

पुस्तक अनुवाद गर्न नेपाल चीन संयुक्तविज्ञ समिति पनि गठन भएको छ । त्यसको अध्यक्ष प्रतिष्ठानका कुलपति भूपाल राई छन् । यसैगरी, सदस्यहरुमा प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्य डा कृष्णराज अधिका,  प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मी र डा सर्वोत्तम श्रेष्ठ रहेका छन् ।

रासस

Link copied successfully