काठमाडौँ — लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार प्राडा दयाराम श्रेष्ठ, प्राडा गोविन्दराज भट्टराई, समालोचकद्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्रीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।
प्राडा श्रेष्ठले नेपाली साहित्यमा वियोगीको नयाँ कथा कृति ‘सत्यम्’को जन्म भएकाले कृतिको संख्या थपिएको मात्रै नभई एक उत्कृष्ट कथाको संग्रह आएको बताए । यी कथाहरूले पाठकमा नयाँ छाप छोड्न सक्ने उनको भनाइ थियो ।
प्राडा भट्टराईले नेपाली साहित्यमा प्रखर र उत्कृष्ट कथासंग्रका रूपमा सत्यम् आएको धारणा राखे ।समाचोलक डा. थापाले पत्रकारिता पेसामा रहेका वियोगीले समाचार तथा फिचरमा लेख्न नमिलेका र लेख्न नसकेका विषयसमेत कथाकृतिमा झल्किने गरी उतारेको बताए । पारिवारिक विखण्डन, वैदेशिक रोजगारी र त्यसले समाजमा पारेको असरजस्ता विषयसमेत सत्यम्ले उठाएको उनले बताए ।
अर्की समालोचक रेग्मीले वियोगीको कथाकृतिमा विगतको माओवादी द्वन्द्व, स्थानीय भाषिकाको प्रयोग, पश्चिमेली लोकगीत तथा संस्कृति, प्रेम, पर्यावरणजस्ता विषयको मिहिन भावसहितको चित्रण पाइने बताइन् ।
साहित्य अकादमी पुरस्कारबाट पुरस्कृत क्षेत्रीले वियोगी ‘हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले..’ बोलको गीतबाट यसअघि नै सफल गीतकारका रूपमा स्थापित भइसकेको प्रसंग सुनाएका थिए । उनले वियोगीको बहुविधात्मक प्रतिभा अहिले कथामार्फत प्रस्फुटित भएको धारणा राखे ।
साहित्य क्षेत्रमा कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीतमा समेत कलम चलाउँदै आएका वियोगीको यो पहिलो कथाकृति हो ।‘म कथाकार वा लेखक बनुँला/नबनुँला,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा धेरैले मलाई गर्नुभयो र त्यही दिशानिर्देशले नै आज यो ठाउँमा छु, म सबैप्रति आभारी छु । मैले सत्यम्लाई होइन, सत्यम्ले मलाई चिनाइदिए पुग्छ ।’
पेज टर्नर प्रालिले प्रकाशन गरेको १५ कथा सङ्ग्रहित कृतिको बजार मूल्य ४५५ रुपैयाँ रहेको छ ।
