बुटवल — अर्थ-विश्लेषक एवं लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि : अल्पविकासको अर्थ-राजनीति’ माथि शनिबार बुटवलमा विमर्श गरिएको छ ।
विमर्शमा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति समाज रूपान्तरणका लागि आवश्यक रहेको बताए । 'पुस्तकले नेपालको अर्थराजनीतिको सम्रग विषय समेटेको छ,' उनले भने, 'राजनीतिज्ञदेखि विद्यार्थी वर्गसम्मका लागि पुस्तक उपयोगी बनेको छ ।'
लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्लेले इतिहासलाई गहिरोसँग अध्ययन गरी तथ्यमा आधारित रहेर पुस्तक लेखिएको बताए । नीतिनिर्माता तथा राजनीतिज्ञहरुले यो पुस्तक अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।
लुम्बिनी वाणिज्य क्याम्पसकी प्राध्यापक विष्णु जोशीले पुस्तकले राजनीतिसँग अर्थशास्त्र जोडिन आवश्यक रहेको कुरामा जोड दिएको बताइन् । नेपाल पछाडि पर्नुको कारणदेखि अर्थतन्त्रका सबै समस्याका बारेमा उल्लेख गरेको भन्दै उनले सरल र सहज भाषामा लेखिएकाले अर्थशास्त्र अध्ययन नगरेकाले पनि सजिलैसँग बुझन् सक्ने बताइन् ।
बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. सञ्जयकुमार कर्णले सुरुदेखि अन्त्यसम्म पाठकलाई तान्ने गरी पुस्तक लेखिएको बताए । पुस्तकमा सम्रग अर्थव्यवस्था र अर्थराजनीतिको बारेमा उल्लेख गरिएकाले अध्ययन गर्नु सबैका लागि फाइदाजनक हुने उनको भनाइ थियो ।
लेखक कार्कीले समाजलाई दिशाबोध गराउनका लागि पनि पुस्तक लेखेको बताए । विमर्शको सहजीकरण लेखक माधवकुमार पौडेलले गरेका थिए भने स्वागत मन्तव्य सरिता श्रीसले दिएकी थिइन् ।
पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकमा नेपाली अर्थतन्त्रको ऐतिहासिक चरित्र उत्खनन गर्दै मुलुकको अल्पविकासको जटिलतालाई राजनीतिक र सामाजिक सन्दर्भसँग जोडेर विश्लेषण गरिएको छ ।
