काठमाडौँ — भनिन्छ, संसारभरिका अधिकांश भौतिक र वित्तीय सम्पत्ति केही धनाढ्यको मुट्ठीमा छ । युरोपमा १० प्रतिशत सर्वाधिक सम्पन्नहरूले सम्पत्तिको कुल ६० प्रतिशतभन्दा बढी हिस्सा ओट्छन् । यो संख्या उत्तरी अमेरिका, दक्षिण तथा दक्षिणपूर्वी एसियामा लगभग ७० प्रतिशत छ भने रुस, मध्य एसिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकामा त्यो संख्या ७० प्रतिशतभन्दा बढी छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वका सर्वाधिक सम्पन्न १० प्रतिशतसँग विश्वको ७६ प्रतिशत सम्पत्ति निर्बाध रूपले नियन्त्रणमा छ ।
यस्ता अनेक तथ्य र अर्थशास्त्रका विभिन्न भाष्यमाथि ब्रिटिस अर्थशास्त्री इमन बट्लरले बहस गरेका छन्, आफ्नो पुस्तक ‘एन इन्ट्रोडक्सन टु इकोनोमिक इनइक्वालिटी’ मा । जसलाई भरखरै वी रिडले समृद्धि फाउन्डेशनसँगको सहकार्यमा नेपाली भाषामा अनुवाद गरी प्रकाशनमा ल्याएको छ, यसमा अनुवादक हुन्– विप्लव प्रतीक । पुस्तकको नेपाली नाम दिइएको छ– ‘आर्थिक असमानता : एक परिचय’ ।
आम्दानीमा असमानताले आर्थिक विकासलाई कसरी प्रभावित पार्छ र आर्थिक विकासले कसरी समानतालाई उँभो लैजान्छ भन्ने विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ । यस्तै, असमानतामाथि बनेका भाष्य र तिनमाथि बहस, आम्दानीको मापनमा उठेका सवाल, समानताको नीति र राजनीतिक प्रभाव, प्रगतिशील कर प्रणाली, अन्तर्राष्ट्रिय तुलना, विभिन्न अर्थशास्त्रीको तर्क र सिद्धान्त, कार्यालयमा समान ज्याला तथा लैंगिक अन्तरको विषय पनि उठाइएको छ । छोटो र सरल भाषा अनुवाद गरिएको यो पुस्तक आर्थिक असमानताको बहसमा नयाँ दृष्टिकोण बन्न सक्छ । समृद्धि फाउन्डेसनसँगको सहकार्यमा वी रिडले पुस्तक प्रकाशनमा ल्याएको हो ।
लेखक इमन बट्लर ब्रिटिस अर्थशास्त्री हुन् । उनी एडम स्मिथ इन्स्टिच्युटका सहसंस्थापक र निर्देशक हुन्, यो संस्था बजार आर्थिक नीतिसम्बन्धी बेलायतको प्रमुख थिंक ट्यांक पनि हो । सेन्ट एन्ड्रयु विश्वविद्यालयबाट अर्थशास्त्र र मनोविज्ञानमा स्नातकोत्तर गरेका उनले विद्यावारिधि पनि सोही विश्वविद्यालयबाट पूरा गरेका हुन् । सन् २०१२ मा उनले हेरियट–वट विश्वविद्यालयबाट मानार्थ डक्टर इन लिटरेचर प्राप्त गरे ।
बट्लरका विभिन्न शीर्षकमा ३० भन्दा धेरै पुस्तक प्रकाशित छन् । एडम स्मिथ, मिल्टन फ्रिडम्यान, एफए हायेक र लुडविग भाँ मिजेसका विचार समाविष्ट पुस्तक उनले निकालेका छन् ।शास्त्रीय उदारवाद, जनचाहना, पुँजीवाद, प्रजातन्त्र, व्यापार, अस्ट्रियन स्कुल अफ इकनोमिक्स र महान् उदार विचारकबारे प्रारम्भिक पुस्तिका पनि छ । उनी ‘दि कन्डेन्स्ड वेल्थ अफ नेसन्स’ र ‘दि बेस्ट बुक अन दि मार्केट’ जस्ता कैयौं पुस्तकका लेखक हुन् ।
