सकियो थुम्के साहित्य महोत्सव

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Thumke Literary Festival is over

इलाम — माईजोगमाई गाउँपालिका र थुम्के साहित्यिक समूहको आयोजनामा दुईदिने थुम्के साहित्यिक महोत्सव सम्पन्न भएको छ ।

इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारका विभिन्न स्थानमा साहित्य, संस्कृति र समाजका विविध पक्ष समेटिएको महोत्सवमा रैथाने संस्कृति र साहित्यका विविध कार्यक्रम समावेश गरिएको थियो । अमर कल्याण नमुना माध्यमिक विद्यालय, नयाँबजारको प्रमुख व्यवस्थापकीय सहयोगमा सञ्चालित महोत्सवमा कविता उत्सव, चियासंवाद, कलासंवाद, पुस्तकवार्ता, पुस्तक लोकार्पण, सूर्योदय सिर्जना लगायत विविध साङ्गीतिक सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । 

पहिलो दिन गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे र कवि डा. नवराज लम्सालको उपस्थितिमा माईजोगमाईको प्रमुख पर्यटकीय स्थल मलुपोखरीको भ्रमणबाट प्रारम्भ भएको महोत्सवमा कविता उत्सवअन्तर्गत माध्यमिक विद्यालयस्तरीय प्रतियोगितात्मक कविता वाचन, चियासंवाद तथा विविध साङ्गीतिक सांस्कृतिक प्रस्तुति गरिएको थियो । प्रतियोगितामा नेपालज्योति माविका सौरभ तामाङ प्रथम, अमर कल्याण नमुना माविका छात्राद्वय प्रश्ना कार्की र एल्भिसा भट्टराई दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भए । नामसालिङ नमुना माविकी शिक्षा घिमिरेले प्रोत्साहन पुरस्कार प्राप्त गरेकी थिइन् ।

'चियाबारीका दृश्य–अदृश्य कथा' शीर्षक दिइएको अर्को कार्यक्रममा चिया श्रमिक अस्मिता शेर्पा, स्थानीय चिया उद्यमी सुबोध पौडेल र उत्पादक ज्ञानबहादुर ढकालबीच संवाद भयो । पत्रकार भीम चापागाईंले सहजकर्ताको भूमिका निर्वाह गरेको सत्रमा चिया उत्पादन, प्रशोधन, बजारीकरण, श्रम तथा श्रमिकका कथाव्यथा प्रस्तुत गरिएको थियो ।

Thumke Literary Festival is over

प्रमुख पर्यटकीय स्थल थुम्केरानीमा सूर्योदय सिर्जनाबाट अर्को कार्यक्रम प्रारम्भ भएको थियो । रैथाने तथा पाहुना कविका कविता प्रस्तुतिसँगै यस क्षेत्रको पर्यावरण र प्रकृतिको अवलोकन गरी सूर्योदय सिर्जनाको उद्देश्यलाई चरितार्थ गरिएको थियो । पूर्व क्षेत्रका वरिष्ठ सर्जकहरु धरणी गौतम, रविमान लम्जेल, टीका घिमिरे, प्रकाश थाम्सुहाङ, दिवाकर भण्डारी, इन्द्रनारायण सुवेदीलगायत स्रष्टाका कविता वाचनका साथै वरिष्ठ गायक देवी गौतम, भूपेन्द्र राई, वृष प्रधान र कमल अर्याल लगायतले गायन प्रस्तुत गरे ।

दोस्रो दिनको कार्यक्रममा समावेश गरिएको कलासंवाद महोत्सवको प्रमुख आकर्षण बन्न पुगेको थियो । 'माईजोगमाईको कला : आस्था, अवस्था र सम्भावना' शीर्षक दिइएको संवादमा पालिकाका उपाध्यक्ष प्रविना राई, अमर कल्याण नमुना माविका प्रधानाध्यापक धनबहादुर भण्डारी, गीतकार तथा सञ्चारकर्मी महेश आचार्य वक्ताका रूपमा सहभागी भए । संवादमा डा. हेम भण्डारीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

'रैथाने सिर्जनाको आकृति' शीर्षकको पुस्तकवार्ता महोत्सवको अर्को महत्त्वपूर्ण संवाद थियो । यस क्षेत्रका सर्जकद्वय केशवराज पौडेल र नारायणप्रसाद चादाराका कृति क्रमशः 'नमुना मदन' र 'प्रधानबा' विमोचनसमेत गरियो । कृतिकारद्वयका साथमा कवि/निबन्धकार प्रकाश थाम्सुहाङ र समालोचक डा. हेम भण्डारीसित गीतकार तथा सञ्चारकर्मी महेश आचार्यले पुस्तकवार्ता गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully