जिल्लास्तरीय कविता प्रतियोगितामा 'प्यालेस्टिनी बालकको बयान' पहिलो

जेष्ठ १७, २०८२

भानुभक्त निरौला

'Palestinian child's statement' first in district level poetry competition

सोलुखुम्बु — सोलुखुम्बुको थुलुङ दुधकोशी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको बृहत् कवि गोष्ठी तथा जिल्लास्तरीय कविता प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिका–११ का युवा कवि शम्भु निशब्दको कविता ‘प्यालेस्टिनी बालकको बयान’ पहिलो भएको छ ।

प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट सहभागी ६२ प्रतियोगीमध्ये नेचासल्यानका लेखनाथ कटेलको कविता दोस्रो, तिंलाकी निर्मला बस्नेतको कविता तेस्रो भएको छ । त्यस्तै, चौथो स्थान विनिता बस्नेत र लक्ष्मी काफ्लेले साझा रूपमा प्राप्त गरेका छन् । विजेताहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार पालिका अध्यक्ष असिम राईले प्रदान गरे । पुरस्कार वितरण गर्दै अध्यक्ष राईले जिल्लामै पहिलो पटक स्थानीय तहले प्रज्ञा–प्रतिष्ठान गठन गरेर साहित्य र कला क्षेत्रको प्रवर्द्धन गरेको बताए ।

पहिलो हुने शम्भु निशब्दले ३० हजार रुपैयाँ, दोस्रो स्थानका लेखनाथ कट्टेले २० हजार, तेस्रो स्थानकी निर्मला बस्नेतले १५ हजार, र चौथो स्थान प्राप्त दुवै सहभागीले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतिष्ठानका संयोजक सुवास संगम राईका अनुसार साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने लक्ष्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कवि श्रवण मुकारुङ, साहित्यकार डा. रेणुका सोलु, कविहरू स्वप्निल स्मृति र सोझो गाउँले लगायतले आ–आफ्ना प्रस्तुति दिएका थिए ।

भानुभक्त

Link copied successfully